काठमाडौं, १६ असोज । नेपालमा शुक्रबार अहिलेसम्मकै सबैभन्दा बढी कोरोना भाइरस संक्रमित बिरामी थपिएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार विगत २४ घण्टामा नेपालमा २ हजार ७ सय २२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।
यो संगैसङ्क्रमित हुनेको कूल सङ्ख्या ८२ हजार ४ सय ५० पुगेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा दिनुभएको जानकारी अनुसार यो संख्या २४ घण्टामा थपिने संक्रमितमा अहिलेसम्मकै सर्वाधिक हो।
शुक्रबार काठमाडौ उपत्यकामा मात्र १ हजार ६ सय ३८ जना सङ्क्रमित थपिएका छन्।
यसअघि देशभरी सङ्क्रमितहरूमध्ये आधा जति काठमाडौं उपत्यकाभित्र सङ्क्रमित हुने गरेकोमा आजको तथ्याङ्कअनुसार त्यो सङ्ख्या ६० प्रतिशत पुगेको छ।
पछिल्लो २४ घन्टामा ११ जनाको मृत्यु भएसँगै भाइरस सङ्क्रमित मृतकको सङ्ख्या ५ सय २० पुगेको छ।
गत भदौ २४ देखि प्रत्येक दिन १ हजार भन्दाबढी सङ्क्रमित फेला परिरहेका छन्।
गत असोज २ गते एकै दिन २ हजार २० जनामा सङ्क्रमण पुष्टि भएको थियो।
त्यो यस अगाडिको सर्वाधिक दैनिक वृद्धि थियो।
सक्रिय सङ्क्रमितको सङ्ख्या २१ हजार २ सय ३४ छ।
सक्रिय संक्रमितको संख्या २५ हजार पुगेपछि देशमा पुन लकडाउन गर्न वा स्वास्थ्य संकटकाल लगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारलाई सिफारीस गरिसकेको छ ।