Prakash Adhikari October 4, 2020

काठमाडौं, १८ असोज । नेपालमा विगत २४ घण्टामा थप २ हजार २ सय ५३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । त्यसमध्ये राजधानी काठमाडौं उपत्यकाका १ हजार ५ सय ९९ जना रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार यससँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ८६ हजार नाघेको छ।

विगत २४ घण्टामाकोरोना भाइरस संक्रमणसमेतको कारणले एक पाँच दिने शिशुसहित ७ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ।

योसहित नेपालमा अहिलेसम्म ५ सय ३५ जना कोरोना भाइरसबाट सङ्क्रमित बिरामीको मृत्यु भएको देखिन्छ।

बिरामी मध्ये निको हुने सङ्क्रमितको सङ्ख्या ६४ हजार नाघेको छ।

कोरोनाभाइरस

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १ हजार ३ सय २९ जना रोगमुक्त भएका छन्।

गत भदौ २४ देखि प्रत्येक दिन १ हजारभन्दा बढी सङ्क्रमित फेला परिरहेका छन्। शुक्रवारदेखि सङ्क्रमितको सङ्ख्या २ हजार नाघिरहेको छ।

शुक्रवार मन्त्रालयले २ हजार ७ सय जना भन्दा बढीमा सङ्क्रमण भेटिएको जनाएको थियो।

त्यो अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि हो।

यसरी बढिरहेको छ कोरोनाभाइरस सङ्क्रमण. . .
कति छन् सङ्क्रमित ?

अहिले देशभरि २२ हजार २ सय १९ जनामा सक्रिय सङ्क्रमण छ।

तीमध्ये ११ हजार ८ सय ९३ जना घरमा र १० हजार ३ सय २६ संस्थागत आइसोलेशनमा छन्।

मन्त्रालयले देशभरि सक्रिय सङ्क्रमितको सङ्ख्या २५ हजार नाघे फेरि लकडाउन लगाउन सकिने सङ्केत यसअघि दिइसकेको छ।

वाग्मती प्रदेशका जिल्लामा सङ्क्रमितको सङ्ख्या अहिले अन्यत्रको भन्दा बढी छ।

काठमाडौं उपत्यकामा देशभरि भएका सङ्क्रमितमध्ये आधाजति छन्।

विगत २४ घण्टामा १२ हजार ७ सय ८४ वटा नमुनाको परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभएको छ।

अहिलेसम्म नेपालमा ६४ हजार ६९ जना सङ्क्रमित निको भइसकेका छन्।

यो सङ्क्रमितको कुल सङ्ख्याको ७३.७ प्रतिशत हो।

गम्भीर लक्षण भएका २२६ सङ्क्रमित सघन उपचारमा र ३४ जना भेन्टिलेटरमा भएको मन्त्रालयले जनाएको छ।

काठमाण्डू उपत्यकामा कोरोनाभाइरसको प्रभाव. असोज १८ गते अपराह्णसम्मको तथ्याङ्कमा आधारित. .

को हुन् सङ्क्रमित ?

काठमाडौंं उपत्यकामा सर्वाधिक सङ्क्रमित भेटिने क्रम जारी छ।

अहिले काठमाडौं जिल्लामा थप १ हजार ३ सय ७३, भक्तपुरमा ३९ र ललितपुरमा १ सय ८७ जनामा कोभिड १९ पुष्टि भएको हो।

त्यसैगरी मोरङमा ८१, चितवनमा ५२, नवलपरासी पूर्वमा ४०, बाँकेमा ५०, रूपन्देहीमा ५२, सुर्खेतमा ५४ र कैलालीमा ५५ जना पनि कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्।

मन्त्रालयका अनुसार अहिले पुष्टि भएका सङ्क्रमितमध्ये ८ सय ३० जना महिला र १ हजार ४ सय २३ जना पुरुष छन्।

को हुन् मृतक ?

विगत २४ घण्टामा एक नवजात शिशुसहित चार महिला र तीन पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

पाँचदिने बालिकादेखि ७७ वर्षसम्मका व्यक्तिको कोभिड १९ सँग सम्बन्धित कारणले मृत्यु उसको भनाइ छ।

ती बालिका मकवानपुरकी हुन् भने अन्य मृतक चितवन, काठमाडौं ललितपुर, बाँके र कञ्चनपुर जिल्लाका हुन्।

नेपालमा ०.६५ प्रतिशत सङ्क्रमितको मृत्यु भएको छ।(बीबीसीबाट)

Share Now

Leave a comment.