Prakash Adhikari October 4, 2020

सानेपा (ललितपुर), १८ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आइतबार(असोज १९) गतेको निमित्त निर्धारित केन्द्रीय कार्य समितिको बैठक स्थगित भएको छ ।

केन्द्रीय सदस्यहरुमा कोरोना संक्रमण देखिएर आइसोलेसनमा रहेकोले बैठक स्थगित गरिएको बताइएको छ ।

नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्तिमार्फत केन्द्रीय कार्यालयमा असोज १५ गते गरिएको पीसीआर परीक्षणका क्रममा पार्टीका केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, गगनकुमार थापा, जंगीलाल राय, कल्पना चौधरी र आमन्त्रित केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठ लगायत अन्य विविध जिम्मेवारीमा रहनुभएका केही व्यक्ति तथा काठमाडौं बाहिर परिक्षण गर्नु भएका केन्द्रीय सदस्यहरु– रमेश रिजाल र अजयकुमार चौरसियामा कोभिड—१९ पोजिटिभ देखिएकोले स्वास्थ्य मापदण्डलाई ध्यानमा राखी पार्टीको २०७७ असोज १९ गते अपरान्ह २ः०० बजेका लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक स्थगित गरेर असोज २५ गते दिउँसो २ ः०० बजेका लागि निर्धारित गरिएको सूचना सार्वजनिक गर्नुभएको छ ।

त्यसो त केन्द्रिय सदस्यहरुमा कोरोना संक्रमण नदेखिएको भएपनि सोमबार निर्धारित बैठक सञ्चालन हुने नहुने अनिश्चित नै थियो ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचित महामन्त्री डा.शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्व महामन्त्री प्रकाशमान सिंह लगायत संस्थापन विरोधी समूहका २७ जना केन्द्रीय सदस्यहरुले पार्टी सभापति शेरबहादुर देउवालाई पार्टीमा विधान विपरीत क्रियाशील सदस्यता वितरण, अन्य दलका कार्यकर्ताको समायोजन,विभाग गठन लगायतका गतिविधि नसच्चाए आगामी बैठकमा सहभागिता नजनाउने र त्यसका विरुद्ध संघर्षसमेत गर्ने चेतावनी दिनुभएको थियो ।

पार्टी सञ्चालनको कार्यशैली र महाधिवेशनको तयारीका बारेमा नेपाली कांग्रेसमा आपसी संवाद र सहमतिको वातावरण अझै बनिसकेको छैन ।

नेपाली कांग्रेसले कोभिड—१९ पोजिटिभ देखिनु भएका केन्द्रीय सदस्य, आमन्त्रित सदस्य एवं अन्य सबैको शीघ्र संक्रमण मुक्तिको कामना गर्दै सबै पदाधिकारी,केन्द्रीय सदस्य र आमन्त्रित केन्द्रीय सहस्यहरुलाई आगामी बैठकमा सक्रिय सहभागिताको लागि आमन्त्रण गरेको छ ।

 

Share Now

Leave a comment.