Prakash Adhikari October 7, 2020

म्याड्रिड(स्पेन), २१ असोज । कोरोना भाइरस संक्रमणको नराम्रो परिणाम भोगेको स्पेनले अवैधानिक ढंगले बसोबास गरिरहेका आप्रवासीमाथि कडाई गर्ने नीति सार्वजनिक गरेको छ । यस नीतिको कारण स्पेनमा रहेका नेपालीहरू धमाधम पोर्चुगलतर्फ जान थालेका छन्‌।

स्पेनका उपप्रधानमन्त्री पाब्लो इग्लेसियसले कादेना सेर रेडियोमा दिएको अन्तरवार्तामा गैरकानूनी रुपमा बसेका आप्रवासीलाई देश निकाला गर्ने र आर्राइगो सोसियललाई खारेज गरिने भएको छ।

सो अन्तरवार्तामा उपप्रधानमन्त्रीले आर्राइगो सोसियल अन्तरगत अध्यागमन अर्टिकल १२४(२) लाई खारेज गरिने बताउनुभएको थियो।

यसअघि ३ वर्ष गैरकानूनी रुपमा लुकेर बसेकाले १ वर्ष काम गरेको आधारमा कन्ट्रयाक्टका आधारमा आर्राइगो सोसियलको लागि निवेदन दिने सकिने नियम थियो।

गठबन्धन सरकारका उपप्रधानमन्त्री इग्लेसियसका अनुसार आउने वर्षदेखि आप्रवासीसम्बन्धी नयाँ परिवर्तन गरिनेछ।

योसँगै आप्रवासीका कारण स्पेनिस जनता बेरोजगार भए भन्ने समस्या अन्त्य उहाँको दावी छ। यसका साथै, पासपोर्टबाट इम्पाद्रोनामिएन्तो गरेका सबै आप्रवासीको विवरण पनि खारेज गरिने छ।

यसअघि निस्शुल्क स्वास्थ्य सुविधा लिन पासपोर्टबाट हेल्थ कार्ड (तारखेता सानीतारिआ) बनाउन बन्देज भएजस्तै इम्पाद्रोनामिएन्तो गर्न दिने व्यवस्था हटाइने छ।
गत महिना गठबन्धन सरकारका प्रधानमन्त्री पेद्रो सान्चेसले संसदमा आर्राइगो सोसियल खारेज लगायत कानूनी रुपमा आप्रवासी नियममा सुधार गर्ने बताउनुभएको थियो। उहाँले कोरोना संक्रमण नियन्त्रणसँगै सरकारले आप्रवासीमाथि कडाई गर्ने बताउनुभएको थियो ।

आप्रवासीमाथि कडाई गर्ने तयारी भएसँगै स्पेनमा कार्ड बनाउन तीन वर्षदेखि गैरकानूनी रुपमा बसेका नेपालीहरू समस्यामा परेका छन्।
कोरोना संक्रमण बढेका बेला पनि सयौँ नेपालीहरू धमाधम पोर्चुगल जान थालेका छन्।

कागजात बनाउन सजिलो मुलुकमध्ये पोर्चुगल एक हो। यहाँ प्रकृया पुगेको एक वर्षमा अस्थायी रेजिडेन्सी कार्ड बनाउन सकिन्छ।

कोरोना भाइरस महामारी कारण स्पेनमा आर्थिक मन्दी र बेरोजगारी दर बढेको छ।

हाल स्पेनमा बेरोजगारी दर ३३ लाख ६८ हजार अर्थात १५।३३ प्रतिशत रहेको छ।

स्पेनको तेस्रो ठूलो आप्रवासी र इस्लाम विरोधी दक्षिणपन्थी वोक्स पार्टीले अवैध आप्रवासीलाई देश निकाला गर्ने, आर्राइगो बन्द गराउने, कट्टरपन्थी मस्जिदहरू बन्द गराउने लगायतका कडा मुद्दाहरू संसदमा उठाउँदै आएको छ।

साथै, वोक्स पार्टीले कानुनी रुपमा बसेका आप्रवासीले कुनै अपराध गरेको छ भने पनि देश निकाला गर्नुपर्ने लगायतका कयौ आप्रवासी विरोधी मुद्दा अघि सारेको छ।

बढ्दो कोरोना संक्रमणले स्पेनमा पनि भयावह अवस्था सिर्जना गरेको छ।

स्पेनमा कोरोना संक्रमितको संख्या अहिलेसम्म ८ लाख ५२ हजार बढी पुगेको छ भने कोरोनाका कारण मृत्यु हुनेको संख्या ३२ हजार २ सय बढी रहेको छ।

युरोपमा सबैभन्दा ठूलो अर्थतन्त्र भएका पाँच देशहरू फ्रान्स, जर्मनी, इटाली, स्पेन र बेलायत हुन्। कोरोना भाइरसका कारण स्पेन आर्थिक मन्दीको चपेटामा परेको छ।

स्पेनको अर्थव्यवस्थामा अन्य देशको तुलनामा निकै गिरावट आएको छ। स्पेनमा निर्यात, लगानी र उपभोक्ताको खर्चमा तीव्र गिरावट आएको छ।

तथ्यांकअनुसार पछिल्लो महिना स्पेनको अर्थव्यवस्थाका लागि सबैभन्दा खराब समय रहेको देखिन्छ। स्पेनको जीडीपीमा पनि निरन्तर गिरावट देखिएको छ।

Share Now

Leave a comment.