Prakash Adhikari October 7, 2020

 

वाशिंटन डी.सी.(संयुक्त राज्य अमेरिका), २१ असोज (बीबीसी) । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोभिड १९ ले थलिएको अर्थतन्त्रलाई राहत दिने प्याकेजबारेको छलफल हाललाई अन्त्य गर्न लागेको बताएपछि त्यसले अमेरिकामा हलचल मच्चिएको छ।

राष्ट्रपति ट्रम्पले चुनावपछि मात्र त्यो पुनः थालिने बताउनुभएको छ। विपक्षी दलले त्यसको आलोचना गरेका छन्।

राष्ट्रपति ट्रम्पले प्याकेजबारे तल्लो सदनको छलफल आउँदो चुनावपछिसम्मको निम्ति स्थगित गर्न लागेको बताएपछि तरङ्ग देखा परेको छ।

उहाँले राज्य र स्थानीय सरकारहरूका निम्ति डेमोक्र्याटहरूको आर्थिक मागलाई त्यसको कारणको रूपमा प्रस्तुत गर्नुभएको छ।

अङ्कको खेल

ट्रम्पले भन्नुभएको छ, ‘नोभेम्बर महिनामा हुने चुनाव मैले जित्ने बित्तिकै कडा मेहनत गर्ने अमेरिकीहरू लक्षित राहत कानुन पारित गरिने छ।’

उक्त घोषणाले सहमतिको प्रयासमा धक्का पुर्‍याएको देखिन्छ तर अर्थतन्त्रलाई कति राहत आवश्यक छ भन्नेबारे छलफल चलिरहेको छ।

डेमोक्र्याट समाभुख र अर्थमन्त्रीबीच बजेटसम्बन्धी वार्ता जारी छ। सभामुख पेलोसीले २० खर्ब डलरको सहायता प्याकेजमा जोड दिनुभएको छ।

रिपब्लिकन सिनेटरहरूले त्यसको आधाभन्दा बढी रकमको प्याकेजमा समर्थन नगर्ने सङ्केत दिएका छन्।

पेलोसी

ट्रम्पले डेमोक्र्याट सभामुख न्यान्सी पेलोसीमाथि सहमतिको उचित प्रयास नगरेको आरोप लगाउँदै आफ्नो समूहलाई वार्ता अन्त्य गर्न आग्रह गर्नुभएको छ।

कीर्तिमानी घाटा

तर सभामुख पेलोसीले राष्ट्रपतिले देशभन्दा आफूलाई प्राथमिकतामा राखेको बताउँदै त्यसको प्रतिवाद गर्नुभएको छ।

बीबीसीकी बारबरा प्लेट असर भन्नुहुन्छ, ‘पेलोसीले राष्ट्पतिमाथि देशको मूल्यमा आफूलाई पहिलो स्थानमा राखेको आरोप लगाइन्। तर पछिल्लो कदमका पछाडिको राजनीतिक तर्कबारे बुझ्न टिप्पणीकारहरूलाई हम्मे हम्मे परिरहेको छ।’

राष्ट्रपतीय निर्वाचनमा ट्रम्पका प्रतिस्पर्धी डेमोक्र्याट नेता जो बाइडनले ट्रम्पले अमेरिकी जनताका अघि पिठयूँ फर्काएको बताउनुभएको छ।

ट्रम्पको ट्वीटले आश्चर्य निम्त्याइ दिएको छ। ट्रम्पको घोषणापछि शेयर बजारमा १ प्रतिशत गिरावट आएको छ।

तथ्याङ्कले महामारीका कारण गत अगष्टमा देशले अन्तर्राष्ट्रिय व्यापारमा १४ वर्षयताकै किर्तिमानी घाटा बेहोरेको देखाएको छ।

Share Now

Leave a comment.