नयाँदिल्ली(भारत), २१ असोज(बीबीसी) । भारतका वैज्ञानिकले गर्भ जाँचजस्तै एकदमै सस्तो र तुरुन्तै नतिजा दिने कोरोना परीक्षण उपकरण बनाएको दाबी गरेका छन्।
भारतीय वैज्ञानिकले ‘फेलुदा’ नामको यो उपकरणले एक घण्टाभित्र कोरोनाको रिपोर्ट दिने र खर्च भारतीय ५ सय रुपैयाँ मात्र पर्ने बताएका छन्।
भारतको अगुवा कम्पनी टाटाले उत्पादन गर्ने फेलुदा कोरोना परीक्षणका लागि कागजमा आधारित विश्वकै पहिलो परीक्षण विधि भएको दाबी गरिएको छ।
भारत सरकारका प्रमुख वैज्ञानिक सल्लाहकार प्राध्यापक के विजय राघवनले भन्नुभएको छ, ‘यो सजिलो, विश्वसनीय, सबैको पहुँच पुग्ने र कम खर्च लाग्ने परीक्षण हो।’
दिल्लीस्थित सीएसआईआरअन्तर्गत इन्स्टिट्युट अफ जिनोमिक्स एन्ड इन्टिग्रेटिभ बायोलोजी (आईजीआईबी) का अनुसन्धानकर्ताले विकास गरेको यस उपकरणबाट २ हजार बिरामीको परीक्षण गरिएको छ।
यस उपकरणबाट परीक्षण गर्दा ९६ प्रतिशत संवदेनशीलता (सेन्सटिभिटी) र ९८ प्रतिशत विशेषता (स्पेसफसटी) पाइएको छ।
परीक्षणको प्रभावकारिता यही दुई कुरामा भर पर्छ। जसको प्रतिशत राम्रो पाइएको वैज्ञानिकले बताएका छन्।
भारतको औषधि नियामक निकायले व्यावसायिक प्रयोगका लागि यो नयाँ परीक्षण उपकरणलाई अनुमति दिइसकेको छ।
सुरुमा परीक्षणको गति सुस्त देखिए पनि अहिले यसले भारतका १२ सयभन्दा बढी प्रयोगशालामा दैनिक १० लाख नमुना परीक्षण गरिरहेको जनाइएको छ।
विश्वकै सस्तो र सुलभ परीक्षण प्रविधिका रूपमा फेलुदा चाँडै बजारमा आउने उत्पादक कम्पनीले दाबी गरेका छन्।
ग्लोबल हेल्थ एन्ड हेल्थ पोलिसीका अनुसन्धानकर्ता डा. अनन्त भानले फेलुदा उपकरण तुलनात्मक रूपमा सस्तो र थप विश्वसनीय रहेकाले यसले एन्टिजेन परीक्षणलाई विस्थापपित गर्न सक्ने विश्वास व्यक्त गर्नुभएको छ।


















