पोखरा(कास्की) १५ माघ । १६ औं आहा! रारा गोल्डकप नकआउट फुटबल प्रतियोगिता अन्तर्गत सोमबार पोखरा रंगशालामा सम्पन्न क्वार्टरफाइनल खेलमा सशस्त्र प्रहरी बललाई पेनाल्टी शूटआउटमा ५-३ पराजित गर्दै रुस्लान थ्री स्टार क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
निर्धारित समय र थपिएको अतिरिक्त समयमा दुवै टोली ले गोल रहित बराबरी खेलेपछि खेल पेनाल्टी शूटआउटमा धकेलिएको थियो।
थ्री स्टारले आफ्नो महत्वपूर्ण तीन बिदेशी खेलाडी बिना यो खेल खेल्नु परेको थियो । ती तीन खेलाडीका वर्कपरमिट सहितका आवश्यक कागजातहरू नभएपछि म्याच कमिस्नर बसन्त रिजालले उनीहरुलाई खेल्न रोकेका थिए ।
थ्री स्टार क्लबले बाङ्लादेशको उत्तर बरीधारासँग माघ १७ गते सेमिफाइनल खेल खेल्ने छ ।
भोलि प्रतियोगिताको अन्तिम क्वार्टरफाइनल अन्तर्गत नेपाल पुलिस क्लब र मनाङ मस्र्याङ्दी क्लबबीच हुने छ ।
साहारा क्लब, पोखराको आयोजनामा जारी प्रतियोगिताको बिजेताले उपाधिसहित नगद ७ लाख हात पार्नेछ ।
प्रतियोगिताको मुख्य प्रायोजन हिमश्री फुड्स प्रा।लि। ले गरेको छ ।