Prakash Adhikari January 30, 2018

 

पोखरा(कास्की), १६ माघ ।जापानमा हुने यु—१२ कोपा पुमा टोरेरस फुटबल टुर्नामेन्टको लागि नेपाली टोलीका सदस्यहरु छनोट भएका छन् ।

छनोट हुनेमा अजित श्रेष्ठ, साईमन गौचन, अनिल सूचिकार, राजकुमार गुरुङ, सुवास गुरुङ, मनिष क्षत्री, रितेश गुरुङ, मनिष सिंजाली, मनोज विश्वकर्मा, अनुपम श्रेष्ठ, श्रयस थापा मगर र नर्बु लामा रहेका छन् ।

प्रशिक्षक राजेन्द्र तामाङका अनुसार नेपाली टोलीले ब्राजिल, स्पेन, जर्मनी, अष्ट्रेलिया, कोरिया, चीन, ताईवान, घाना लगायतका देशसँग प्रतिस्पर्धा गर्ने छन् ।

फन रुट्स एकेडेमीका प्रशिक्षक समेत रहेका नेपाली पूर्व राष्ट्रिय खेलाडी बसन्त गौचनको उपस्थितिमा पोखरा रंगशालामा १२ सदस्यीय टोलीको छनोट गरिएको हो ।

फन रुट्स एकेडेमी जापानका सञ्चालक जुन हिरानोले कोपा पुमा टोरेरस प्रतियोगिता खेल्न पाउनु निकै राम्रो अवसर भएको बताए ।

पोखरा रंगशालामा मंगलबार विहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै हिरानोले नेपालको सहभागिताले अरुलाई पनि अवसर मिल्ने बताए । उनले बसन्त गौचन आफनो एकेडेमीमा आएपछि नेपाल र नेपालीसँग भेटघाटसँगै आत्मियता गाँस्न पाएको प्रति खुशी व्यक्त गरे ।

जापानको टोकियोस्थित रिसहो युनिभर्सिटीका प्रशिक्षक तोकाई रिनले आगामी दिनमा जापानीज युनिभर्सिटीको टिम पोखरा ल्याउन सकिने बताए ।

आहा रारा गोल्डकपकै समयमा आईपुगेका प्रशिक्षक तोकाईले नेपाली क्लबको फुटबलस्तर निकै राम्रो भएको प्रतिक्रिया समेत दिए ।
पत्रकार सम्मेलनमै पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले अब नेपालमा पनि स्पोर्टस युनिभर्सिटीको परिकल्पना गरिएको जानकारी दिए । पूर्व राष्ट्रिय खेलाडी बसन्त गौचनले यु—१२ नेपाली टिम लैजाने यो तेस्रो अवसर भएको भन्दै आगामी दिन अझ राम्रो प्रदर्शन गर्नेमा आफू विश्वस्त भएको बताए ।

उनले जापानीज युनिभर्सिटीको टिम नेपाल ल्याउने विषयमा भने पहल गर्ने बताए ।

Share Now

Leave a comment.