Prakash Adhikari November 26, 2020

 

काठमाडौं, ११ मंसिर । अघिल्लो आर्थिक बर्षमा सबैभन्दा बढी कर तिरेर नेपाल सरकारबाट सम्मानित भएका करदाताहरू मध्ये नेपाल उद्योग परिसंघमा आबद्ध करदाताहरुलाई नेपाल उद्योग परिसंघले सम्मान गरेको छ ।

बिहिबार परिसंघको केन्द्रीय कार्यालय ट्रेड टावरमा आयोजित एक विशेष कार्यक्रममा सरकारलाई बढी कर बुझाउने आफ्नो संगठनका व्यवसायीलाई परिसंघले सम्मानित गरेको हो ।

नेपाल सरकारबाट सम्मानित करदाताहरु मध्ये सात करदाता नेपाल उद्योग परिसंघको गभर्निङ काउन्सिल, राष्ट्रिय परिषद् र सदस्यहरु रहेका छन् ।

परिसंघमा आबद्ध उद्यमी र ब्यबसायीहरु राष्ट्र विकासमा योगदान गर्ने महत्वपूर्ण व्यक्ति रहेकोमा गौरव महशुस गर्दै संस्थाले आआफ्नो क्षेत्रबाट सबैभन्दा बढी कर बुझाउने ठूला करदाता सदस्यहरुलाई सम्मान पत्र प्रदान गरेको हो ।

परिसंघमा आयोजित कार्यक्रममा अध्यक्ष सतिशकुमार मोरले व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर तिरेर सम्मानित हुनु भएका परिसंघ गभर्निङ्ग काउन्सिलका सदस्य तथा जाउलाखेल ग्रुपका अध्यक्ष विजयकुमार शाहलाई सम्मान तथा बधाई पत्र प्रदान गर्नुभयो ।

परिसंघले बैंक वित्तीय संस्थातर्फका उत्कृष्ट करदाता नबिल बैंक लिमिटेडका उपाध्यक्ष एवं परिसंघका उपाध्यक्ष निर्वाण चौधरीलाई पनि बधाई तथा सम्मान पत्र प्रदान गरेको छ ।

पर्यटन व्यवसायमध्येबाट सबैभन्दा बढी आयकर तिरेर सम्मानित भएको तारागाउँ रिजेन्सी होटल्स लिमिटेडका निर्देशक तथा परिसंघको राष्ट्रिय परिषद् सदस्य सुरेशलाल श्रेष्ठ, मूल्य अभिवृद्धि करतर्फ सम्मानित हुने घोराही सिमेन्ट इन्डस्ट्रीज प्रा।लि।का निर्देशक तथा परिसंघका राष्ट्रिय परिषद् सदस्य आदित्य संघाइ र विप्रेषणको कारोबार गरी सम्मानित भएको आई।एम।ई लिमिटेडका निर्देशक तथा परिसंघको राष्ट्रिय परिषद् सदस्य हेमराज ढकाललाई पनि परिसंघले बधाई ज्ञापन गर्दै सम्मान पत्र प्रदान गरेको छ ।

सबैभन्दा बढी कर तिर्ने करदाताको संस्थागत करदाता सूर्य नेपाल प्रा.लि र निर्यातकर्ताहरूमध्ये सबैभन्दा बढी आयकर तिरेर सम्मानित भएको डाबर नेपाल प्रा.लि.लाई परिसंघले सम्मानित गरेको छ ।

सम्मान तथा बधाई पत्र हस्तान्तरण गर्दै अध्यक्ष सतिशकुमार मोरले देशको अर्थतन्त्रमा परिसंघमा आबद्ध सदस्यहरुले उल्लेख्य योगदान गरेर परिसंघ र समग्र निजी क्षेत्रका लागि गौरव अनुभूति गर्ने अवसर दिनुभएकोमा हार्दिक बधाई दिनुभएको थियो । उहाँले निजी क्षेत्रले बुझाएको कर तथा राजस्वको सदुपयोग भई देश विकासतर्फ लम्केको हेर्ने निजी क्षेत्रको अपेक्षा रहेको पनि अध्यक्ष मोरले उल्लेख गर्नुभयो ।
सो अवसरमा सम्मानित करदाताहरुले उद्योग व्यवसाय मैत्री वातावरण बनाउन निजी क्षेत्रको तर्फबाट परिसंघले गरेका क्रियाकलापहरुको सराहना गर्नुभएको थियो ।

व्यक्तिगततर्फ सबैभन्दा बढी कर तिरेर उत्कृष्ट करदाता बन्न सफल परिसंघको गभर्निङ्ग काउन्सिल सदस्य विजय शाहले संस्थागत सुशासनलाई अपनाएर उत्कृष्ट करदाता बन्न सफल भएकोमा गर्व महशुस भएको बताउनुभएको थियो ।

कार्यक्रमको समापन गर्दै परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले यो सम्मानले व्यवसायिक समुदायलाई उदाहरण प्रस्तुत गरेको भन्दै सम्मान कार्यलाई प्रदेश तहमा समेत निरन्तरता दिने बताउनुभएको थियो ।

सम्मान कार्यक्रममा परिसंघका गभर्निङ काउन्सिल सदस्य बालकृष्ण श्रेष्ठ, उपाध्यक्षहरु अनुज अग्रवाल र विरेन्द्रराज पाण्डे राष्ट्रिय परिषद् सदस्य राजबहादुर शाह लगायतका व्यक्तित्वहरुको उपस्थिति थियो ।

नवौं राष्ट्रिय कर दिवसको अवसर पारेर आर्थिक वर्ष २०७६÷०७७ मा सबैभन्दा बढी कर बुझाउने विभिन्न क्षेत्रका १५ करदातालाई सरकारले गत आइतबार सम्मान गरेको थियो ।

 

Share Now

Leave a comment.