काठमाडौं, १७ माघ । एक सातादेखि ललितपुरको फूलचोकी क्षेत्रमा बेपत्ता भएका ललितपुर थसिखेलका जोन तामाङ बुधबार फेला परेका छन् ।
हिउँ खेल्न फुलचोकी गएको बेलामा बेपत्ता भएका उनी गोदावरीको जंगलमा भेटिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
कक्षा पाँचका विद्यार्थी र प्राचार्यसँगै हिउँ खेल्न गएका ६ कक्षाका जोन गत साता विहीबारदेखि वेपत्ता भएका थिए ।
उनी गोदवारी जंगलमा झोक्राइरहेको अवस्थामा भेटिएको सूचना पाएपछि खोजीमा गएको ललितपुर प्रहरी परिसरको टोलीले उनलाई सकुशल उद्धार गरी बी एण्ड बी अस्पतालमा भर्ना गराएको छ ।
उनको स्थिति अहिले सामान्य रहेको र उनी बोलचाल समेत गर्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।
सातौँ दिनमा जोन तामाङ भेटिए, फूलचोकीमै
उनी फेला परेको भनी सातदोबाटोका डीएसपी विनोद सिलवालले जानकारी दिनुभएपछि अभिभावक संघका पूर्व अध्यक्ष सुप्रभात भण्डारी र म गोदावरीतर्फ लाग्यौँ । बीचमा एभिन्यूज टिभीका भाइ दिपक अर्यालसँग पनि भेट भयो । वास्तवमा उनले नै जोन हराएको समाचार पहिलोपटक ब्रेक गरेका थिए ।
राती सवा आठ बजे जोनलाई तल गोदावरीमा ल्याइयो । उनलाई एम्बुेन्समा राखेर बीएण्डबी अस्पतालतर्फ लगियो ।
उनलाई रामकाजी तिवारी र चन्द्र आलेले बोकेर तल झार्नुभएको हो । रेस्क्यु एसोसिएसन, र्याफ्टिङ एसोसिएसनका साथै स्थानीय सुन्दर सिंह लामा, विनोद आचार्य, अनिल खत्रीसहितको १९ जनाको टोली आज सुरुमै फुलचोकीको टुप्पामा पुग्यो । त्यहाँबाट तल झर्यो । रामकाजी तिवारी र चन्द्र आलेले उनलाई फेला पार्नुभएको हो ।
उनी हराएपछि म र भण्डारी दाइ पनि दुईपटक त्यहाँ पुग्यौँ । आज पनि राती कहिले नौधारा, कहिले कुन उकालो र कहिले कुन उकालो जानु पर्यो ।
रामकाजी तिवारीले उद्धार कार्यका बारेमा यसरी बेलिविस्तार लगाउनुभयो, “हिजोको खोजी कार्य चित्त नबुझेपछि आज पुनः त्यहाँ पुग्यौँ । टुप्पामा पुगेर तलतिर झर्यौँ । जोन करिव दुई हजार मिटरको उचाइमा फेला परेको ।
सानो पोखरी रहेछ त्यहाँबाट दुई टोली छुट्टियो । हामी लाकुरी भञ्ज्याँग जाने बाटोतिर अझै दायाँ लाग्यौँ । करिव सात आठ सय मिटर तल झरिसकेपछि एउटा ब्याग भेट्यौँ । ब्यागभित्र एउटा पेन र चम्चा भेट्यौँ । शंका लाग्यो । दायाँ बायाँ हेर्दा मान्छे घस्रिएको ठाँउ भेट्यौँ । अझ तल हेर्दा मानिस उछिट्टिएर तल लडेको जस्तो देख्यौँ । तल गयौँ । एउटा मुढा ढलेको जस्तो रहेछ । त्यसभन्दा मुनी ठूलो पिपलको रुख जस्तो लडेको देख्यौँ । त्यसकै चेपमा अड्किएर बसेको देख्यौँ ।
ठिक ४ः४५ बजे भेटेका थियौँ । बीच बाटोमा टिफिन बक्स पनि भेटेका थियौँ । त्यो देखेपछि दाइ टिफिन बक्स भने । निकै खुशी लाग्यो । मानिस जस्तो देखे । मानिस लडेको जस्तो लाग्यो । फोटोको टोपी हेर्दा हन्ड्रेड पर्सेन्ट जोन हो भन्ने लाग्यो र जोन भनेर करायौँ ।
उ फर्कियो । हामी त्यहाँ पुगेपछि बच्चा रोयो । हल्का पानी खुवायौँ । बोतलभरिको पानी सबै खाइसक्ला जस्तो गर्यो । झाडीभित्र थियो । झाडी फाडफुड गर्यौँ । बाटो एकदमै गाह्रो थियो ।
हामीसँग एक पुडिया बिस्कुट थियो । सबै खाँदा गाह्रो होला भनेर आधा दियौँ । तल एकदमै झाडी छ । जोन फष्टमा रोयो । जोन हो भन्दा टाउको हल्लायो । धेरै कुराकानी गरेर डिस्टर्ब गर्न पनि मिल्दैन ।
प्रहरी, सेना बाटो बाटोमात्र गए । झोडमा हामीहरु मात्र गयौँ । त्यहाँ बाघको पाइला पनि देख्यौँ । त्यो बाटोमा एक दुई जना मानिसमात्र हिँड्न सक्दैन । डरलाग्दो छ । मालिँगोको घारीमा एकदमै डरलाग्दो छ । बँदेलले खनेको ठाँउ एकदमै धेरै छ । चितुवा र मृत सुतेको ठाँउ पनि धेरै देखिन्छ ।”
प्रकृति अधिकारीको फेसबुकबाट । तस्विर : सौजन्य प्रकृति अधिकारी