काठमाडौं, २१ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने भएको छ ।
बैठकमा पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालयमा प्रस्तुत गर्नुभएका अलग–अलग प्रस्ताव पेश हुने कार्यसूची छ ।
शनिबारको सचिवालय बैठकमा सहमति नजुटेपछि ती प्रस्ताव स्थायी कमिटीमा लैजाने निर्णय भएको थियो ।
गत भदौ २६ गते सम्पन्न नेकपा स्थायी कमिटीको बैठकले अध्यक्षद्धयबीच कुराकानी मिलेपछि पार्टीभित्रको विवाद मिलाइएको विषयलाई औपचारिक रुपमा अनुमोदन गरेको थियो ।
तर प्रधानमन्त्री एवम् पार्टीका प्रथम अध्यक्ष के.पी. शर्मा ओलीको एकसुरे अधिनायकवादी कार्यशैलीले विवाद पुनः बल्झन गयो र सचिवालयले निरन्तर लामो प्रयास गर्दा, राष्ट्रपति विद्यादेवी भण्डारीले हस्तक्षेप गर्दा र मित्रराष्ट्र चीनकी महामहिम राजदूतले अथक प्रयत्न गर्दा पनि यस पटक विवाद सचिवालयमा टुंगिन सकेन र स्थायी समितिमा प्रवेश गर्यो ।
स्थायी समितिको आजको बैठकमा सदस्यहरुलाई अध्यक्ष द्धय ओली र प्रचण्डका प्रस्ताव वितरण गर्ने र केही दिनका लागि पढ्न समय दिने त्यसपछि छलफलमा ल्याउने सचिवालयका नेताहरुको तयारी छ । प्रस्तावहरुउपर स्थायी समितिबाट निर्णय आउन केही समय लाग्ने बताइएको छ ।


















