काठमाडौं, ९ पौष । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको सिफारिस गर्ने प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार र त्यसलाई आँखा चिम्लेर सदर गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदम विरूद्ध देशैभर विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ।
आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले पुस १३ गते देशभरका १ सय ६५ निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गर्ने निर्णय गरेको हो।
महामन्त्री पूर्णबहादुर खड्काले दिएको जानकारीअनुसार संघीय निर्वाचन क्षेत्रहरूमा विरोध प्रदर्शन गर्ने निर्णय भएको छ।
प्रधानमन्त्री ओलीले गत आइतबारबसेको मन्त्रिपरिषद्को बैठकबाट प्रतिनिधिसभा विघटन गरी बैशाख महिनामा निर्वाचन गर्न राष्ट्रपतिलाई सिफारिस गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले राष्ट्रपतिसमक्ष गर्नुभएको उक्त असंवैधानिक सिफारिसको आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी २०७८ साल बैशाख १७ र २७ गते निर्वाचनको मिति घोषणा गर्नुभएको थियो ।
नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक मंगलबारदेखि निरन्तर बस्दै आएको भएपनि दुई दिनका बैठकमा पार्टी सभापति शेरबहादुर देउवाको तत्काल सडक संघर्षमा जाने मनस्थिति नदेखिएपछि पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको आज बिहान अनामनगरस्थित सम्पर्क कार्यालयमा बसेको केन्द्रीय सदस्यहरुको अनौपचारिक भेलाले सरकारविरूद्ध तत्काल सडक आन्दोलनमा जानुपर्ने निष्कर्ष निकालेको थियो।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंगलबारदेखि निरन्तर चलिरहेको छ ।


















