
काठमाडौं, ९ पौष । प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमका विरुद्धमा रहेका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहले संसद विघटनविरुद्ध यही पौष १४ गते देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ । पार्टीको सो समूहले विघटित प्रतिनिधिसभाको पुनस्थापनाको लागि भोलिदेखि नै सरकारविरुद्ध आन्दोलनको घोषणा गरेको छ ।
बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले भोलिबाटै सडकमा आन्दोलनमा उत्रिने निर्णय गरेको हो।
नेकपाको बहुमत केन्द्रीय सदस्य तथा विघटित प्रतिनिधिसभाका बहुमत सदस्यहरुको साथ रहेको सो समूहले काठमाडौंमा भोलिदेखि नै दैनिक रूपमा कुनै न कुनै प्रकारको विरोध गर्ने निर्णय गरेको छ ।
पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले १४ गते देशब्यापी प्रदर्शन हुने जानकारी दिनुभएको छ । उहाँका अनुसार मुख्य प्रदर्शन काठमाडौंमा हुनेछ । बाग्मती प्रदेशका भने सबै जिल्लालाई राजधानीको विरोधसभामा केन्द्रित गरिने बताइएको छ।
केन्द्रीय समितिको बिहिबारको बैठकबाट पारित आन्दोलनको कार्यक्रम अनुसार पुस १० गते माइतीघर मण्डलामा जम्मा भएर संयुक्त पत्रसहित केन्द्रिय सदस्यहरु निर्वाचन आयोगमा जाने र असंवैधानिक रुपमा विघटित प्रतिनिधि सभाका सदस्यहरु सर्वोच्च अदालतको संवैधानिक इजलाशको संसद पुनःस्थापनाको मुद्दामा हुने सुनुवाईमा उपस्थित हुने र २ बजे पत्रकार सम्मेलन गर्ने निर्णय गरेको छ ।
पर्सी ११ गते ७ प्रदेशमा प्रदेश कमिटी बैठक सम्बन्धित प्रदेशमै गर्ने र १२ गते ७७ जिल्लामा जिल्लास्तरीय भेला गर्ने निर्णय भएको छ ।
पौष १४ गते बाग्मती प्रदेशका जिल्लाहरुले राजधानीमा विरोध प्रदर्शन गर्ने तथा अन्य जिल्ला सदरमुकाममा जिल्लास्तरीय प्रदर्शन हुनेछ ।
नेकपाको प्रचण्ड नेपाल समूहको बिहिबार बसेको केन्द्रीय समितिको बैठकले २० गतेसम्म सबै नगर तथा गाउँ र २५ गतेसम्म वडास्तरमा बैठक एवं भेला गर्ने निर्णय छ।
देशव्यापी तयारी पुगेपछि अझ सशक्त उच्चस्तरीय कार्यक्रम घोषणा गरिने जानकारी दिंदै प्रवक्ता श्रेष्ठले भन्नुभएको छ, ‘यो नेपाल बन्दसम्म पनि हुन सक्छ ।’
आन्दोलनका लागि श्रेष्ठकै संयोजकत्वमा २ हजार ५ सय १ सदस्यीय जनआन्दोलन परिचालन समिति बनेको छ ।
यसको सचिवालय पनि बनाइने भएको छ ।