दुवई(संयुक्त अरब इमिरेट्स),१९ माघ । विश्व क्रिकेट लिग डिभिजन–२ को तयारीका लागि दुबईमा रहेको नेपाली क्रिकेट टोलीले ाजको अन्तिम अभ्यास खेल पनि जित्ने विश्वास प्रकट गरेको छ ।
दुबइस्थित आईसीसी ग्लोबल एकेडेमीको मैदानमा बिहान सबा ११ बजे नेपालले यूएई ‘ए’ को सामना गर्नेछ। अघिल्ला दुई खेलमा जित हात पारेको नेपाल शतप्रतिशत जित दर्ता गर्ने लक्ष्यमा छ।
नेपालले पहिलो खेल २५ रन र दोस्रो खेल १ सय ९३ रनले जितेको थियो।
शुक्रबार खेलमा यसअघिका दुवै खेलमा विश्राम लिएका शरद भेषावकर पनि मैदानमा उत्रिने सम्भावना छ।
नेपालले डिभिजन २ को पहिलो खेल आगामी बुधबार आयोजक नामिबियासँग प्रतिस्पर्धा गर्नेछ। डिभिजन २ को शीर्ष दुई स्थानमा रहन सफल भए नेपालले आगामी मार्चमा हुने विश्वकप छनौट प्रतियोगिताका लागि स्थान बनाउनेछ।
दोस्रो खेलमा पनि शानदार जित
आइसीसी विश्व क्रिकेट लिग डिभिजन दुई खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले युएई ए विरुद्ध दोस्रो अभ्यास खेलमा पनि १ सय ९३ रनको शानदार जित हात पारेको छ ।
बुधबार टस जित्दै पहिले ब्याटिङ रोजेको नेपालले ओपनर ज्ञानेन्द्र मल्लको शानदार १५४ रनको शतकीय पारीको सहयोगमा निर्धारित ५० ओभरमा पाँच विकेट गुमाउँदै ३३३ रनको बिशाल योगफल तयार पारेको थियो । नेपालका लागि अर्का ओपनर दिलिप नाथले पनि ६४ रनको अर्धशतकीय पारी खेले ।
त्यस्तै दिपेन्द्र सिंह ऐरीले ३४ रन बनाए भने आरिफ शेख ४१ रनमा नटआउट रहे । बलिङतर्फ युएई ए का लागि वासिफ अहमद र कार्थिक मयप्पनले १–१ विकेट लिए ।
उता जवाफी लक्ष्य पछ्याएको घरेलु टोली भने ४०।२ ओभर खेल्दै १ सय ४० रनको योगफलमा अलआउट हुन पुग्यो । युएईका लागि मोहम्मद कासिमले सर्वाधिक ४१ रन बनाए । बलिङतर्फ नेपालका सन्दिप लामिछानेले ४ विकेट लिए भने कप्तान पारस खड्काले २ विकेट हात पारे । त्यस्तै शक्ति गौचन र सोमपाल कामीले १–१ विकेट लिए ।