काठमाडौं, १९ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपालको सद्भावना भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच भेटघाट सम्पन्न भएको छ ।
भेटघाट सोल्टी होटलमा बिहान ९:४० देखि १०:३० सम्म भएको थियो ।
भेटपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भेटवार्ता नेपालको राजनीतिक स्थायित्व र विकासमा केन्द्रित भएको जानकारी सञ्चारकर्मीलाई दिएका छन् ।
भारतीय विदेश मन्त्री स्वराजले हालै सम्पन्न प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा नेकपा माओवादी र वामगठबन्धनलाई प्राप्त सफलताको लागि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई बधाई दिंदै अब नेपालको राजनीति कसरी अगाडि बढ्छ भनेर जिज्ञासा राखेकी थिइन् ।
प्रत्युत्तरमा आफूले नेपालले राजनीतिक उपलब्धि प्राप्त गरी संविधानमार्फत संस्थागत समेत गरिसकेकोले अब राजनीतिक स्थायित्वको जगमा पूर्वाधार विकास र आर्थिक समृद्धि हासिल गर्ने दिशामा नेपाल अगाडी बढ्ने जानकारी दिएको माओवादी केन्द्का अध्यक्ष प्रचण्डले बताए ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका अनुसार राजनीतिक स्थायित्व कायम गर्न र विकासलाई अगाडि बढाउन भारतको पूरा साथ रहने आश्वासन भारतीय विदेश मन्त्री स्वराजले दिएकी थिइन ।