Prakash Adhikari January 22, 2021

 

कीर्तिपुर(काठमाडौं), ८ माघ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत सातौँ दिन समूह ‘बी’ अन्तर्गतको खेलमा नेपाल प्रहरीको विभागीय टोली लुम्बिनी प्रदेशलाई ७४ रनले पराजित गरेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपाल प्रहरीले दिएको ३ सय ११ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनीले पुरै ५० ओभर ब्याटिंग गर्दै २ सय ३६ रन मात्र बनाउन सक्यो।
लुम्बिनीको लागि सौरभ खनालले सर्वाधिक ७४ रन बनाए भने देव खनालले ४९ रन, सन्दिप रजाली र कृष्ण कार्कीले समान ४० ।४० रन तथा राजबीर सिंहले २४ रन बनाए।

 

नेपाल प्रहरीको बलिंगमा राशिद खान र पवन सर्राफले समान २ । २ विकेट लिए भने ललित राजबंशी, सागर ढकाल र दिपेन्द्र ऐरीले समान १।१ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको नेपाल पुलिस क्लबले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३ सय १० रन बनाएको थियो।

नेपाल प्रहरीका सुनिल धमलाले करियरकै पहिलो शतक बनाउने क्रममा सर्वाधिक १ सय ४ रन बनाए। प्रधानमन्त्री कपमा प्रहार भएको यो १० औं शतक हो। धमलाले १४५ बलमा ७ चौका र १ छक्का प्रहार गरे। यस्तै दिपेन्द्र सिंह ऐरीले ६१ बलमा १ चौका र ६ छक्का मद्दतले ८५ रन बनाए। पवन सर्राफले मात्र १३ बलमा १ चौका र ६ छक्का प्रहार गर्दै अविजित ५० रन बनाए।

 

लुम्बिनीको बलिंगमा कृष्ण कार्की, अनिल खरेल, दिपेन्द्र रावत र सौरभ खनालले समान १ । १ विकेट लिए। खनालले २ ओभरमा ३८ रन खर्चिए।

प्रतियोगिता अन्तर्गत नेपाल प्रहरीले पहिलो खेलमा बागमती प्रदेशसंग हार बेहोरेपछि दोश्रो खेलमा सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको थियो। लुम्बिनीले पहिलो खेलमा प्रदेश २ लाई पराजित गरेको थियो।

जितपछि नेपाल प्रहरी समूह ‘बी’ मा ३ खेलमा २ जित र १ हार पछि ४ अंक बटुल्दै दोश्रो स्थानमा उक्लेको छ। दुवै खेलमा जित सहित बागमती शीर्ष स्थानमा छ। लुम्बिनी २ खेलमा १ जित र १ हार पछि तेश्रो स्थानमा छ।

Share Now

Leave a comment.