काठमाडौं, ८ माघ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत सातौँ दिनको खेलमा सशस्त्र प्रहरी बलको विभागीय टिमले गण्डकी प्रदेशलाई ६ विकेटले पराजित गरेको छ ।
मुलपानी मैदानमा सम्पन्न बिहिबारको खेलमा सशस्त्र प्रहरीको विभागीय टोलीले गण्डकी प्रदेशलाई ६ विकेटले पराजित गर्दै दोश्रो जित दर्ता गरेको छ।
प्रतियोगिता अन्तर्गत एपीएफले पहिलो खेलमा प्रदेश(१ लाई पराजित गरेको थियो। गण्डकी प्रदेशले त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेशसंग हार ब्यहोरेको थियो भने प्रदेश १ लाई पराजित गरेको थियो। तेश्रो हारपछि गण्डकी प्रतियोगिताबाट बाहिरिएको छ।
खेलमा गण्डकीले दिएको १ सय ७ रनको लक्ष्य एपीएफले ४ विकेट गुमाएर १७.३ ओभरमा पूरा गर्यो।एपीएफको लागि ओपनर आसिफ शेखले सर्वाधिक ७८ रन बनाए जुन क्रममा ५६ बलमा ५ चौका र ६ छक्का प्रहार गरे। सुमित महर्जनले १८ रन बनाए। आसिफले यस अघि प्रदेश १ बिरुद्ध पनि ५९ रन बनाएका थिए।
गण्डकीको बलिंगमा चन्द्रकान्त पौडेल र बिशाल पौडेलले समान २ विकेट लिए।
यस अघि टस हारेर ब्याटिंग गरेको गण्डकी प्रदेशले ४६ ओभरमा सम्पूर्ण विकेट गुमाएर १ सय ६ रन बनाएको थियो।
गण्डकीको लागि ओपनर समिर कंडेलले सर्वाधिक ३६ रन बनाए भने बिष्णु पाण्डे र दिपेश खत्रीले समान १५ रन तथा दिनेश बुढामगरले १२ रन बनाए।
एपीएफको बलिंगमा कमल सिंह ऐरीले सर्वाधिक ४ विकेट लिए। अविनाश बोहरा र शरद भेसावकरले समान २ विकेट तथा किशोर महतोले १ विकेट लिए।


















