Prakash Adhikari January 22, 2021

काठमाडौं, ९ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बहुमत स्थायी सदस्य तथा केन्द्रीय सदस्य रहेको प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री के.पी. शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको संयुक्त षड्यन्त्रमा गरिएको प्रतिनिधिसभाको असंवैधानिक विघटनविरुद्ध आज काठमाडौंमा बृहत शक्ति प्रदर्शन गर्ने भएको छ।
प्रतिनिधिसभा विघटनको विरोधमा यसअघि देशभर विरोध कार्यक्रम गरेको प्रचण्ड–नेपाल समूहले आज काठमाडौंमा बृहत प्रदर्शन र सभा गर्न लागेको हो।

सो समूह बिहान ११ बजे पार्टी स्थायी कमिटी सदस्यहरुको नेतृत्वमा विभिन्न ठाउँबाट जुलुस निकाल्ने तयारी गरेको छ। माइतीघर मण्डला, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिबाटिका र बाल्मिकी क्याम्पसलगायत स्थानबाट जुलुस निस्किनेछन्।

जुलुसमा सबै जिल्लाका सम्पर्क मञ्च, सबै जनवर्गीय संगठन तथा पार्टीका शुभचिन्तकहरूलाई सहभागी हुन निर्देशन दिइएको छ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ नेतृत्वको संघर्ष समितिका प्रवक्ता योगेश भट्टराईका अनुसार विभिन्न ठाउँबाट निस्किने जुलुस रत्नपार्कमा जम्मा हुनेछन् । त्यहाँबाट पुतलीसडक, भद्रकाली, शहीदगेट सुन्धारा हुँदै भृकुटीमण्डपमा गएर सभामा परिणत हुनेछ ।

प्रदर्शनलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन २ हजारभन्दा बढी स्वयंसेवक परिचालन गरिने प्रवक्ता भट्टराईले जानकारी दिनुभएको छ।

जुलुस र सभामा काठमाडौं बाहिरबाट पनि सर्वसाधारण, नेता कार्यकर्ता र शुभेच्छुक सहभागी हुने बताइएको छ । जुलुसको नेतृत्व पार्टी प्रवक्ता श्रेष्ठ, स्थायी कमिटी सदस्य गणेश साह, गिरिराजमणि पोखरेल, मातृकाप्रसाद यादव, लीलामणि पोखरेल, हरिबोल गजुरेल, वर्षमान पुन, बेदुराम भुसाल, भीमबहादुर रावल, शक्तिबहादुर बस्नेत, नन्दकुमार प्रसाई, देवेन्द्र पौडेल, युवराज ज्ञवाली, सुरेन्द्रप्रसाद पाण्डे, कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त, घनश्याम भुसाल, जनार्दन शर्मा, संघर्ष समितिका प्रवक्ता भट्टराई लगायतले गर्ने बताइएको छ।

विरोधसभामा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाललगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

Share Now

Leave a comment.