Prakash Adhikari January 22, 2021

काठमाडौं, ९ माघ । सरकारमा नरहेको नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा मात्र नभई अब शान्ति प्रक्रिया र संघीय व्यवस्था नै विघटन गर्न खोजेको आरोप लगाउनुभएको छ ।

‘केपी ओलीले संविधानविरुद्ध प्रतिनिधि सभा विघटन गरेको मात्र नभई शान्ति प्रक्रिया र संघीय व्यवस्था नै विघटन गर्न खोज्नुभएको छ,’ शुक्रबार नेकपाले राजधानीको प्रदर्शनी मार्ग र टुंडिखेलको त्रिबाटोमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘खबरदार त्यस्ता कदमलाई यो जनसागरले त्यसलाई पराजित गर्नेछ।’


उहाँले २०६२–६३ को जनआन्दोलनमा जस्तै फेरि एकपटक नागरिक समाज, पेशाकर्मी, मिडिया र वुद्धिजीवि वर्गले प्रतिनिधि सभाको असंवैधानिक विघटनको विरोध गरेको बताउनुभयो ।

उहाँले नेपाली जनताले ७ दशकको बलिदानपूर्ण संघर्षपछि निर्वाचित गरेको संविधान सभाले निर्माण गरेको संविधानको अपहरण गर्ने नियतले गरिएको प्रतिनिधिसभाको विघटनविरुद्ध अहिले देशका बिभिन्न भाग र काठमाडौंमा उर्लेको जनसागरलाई अदालतले पनि हेर्नुपर्ने बताउनुभयो।

ओली हिटलरका नेपाली संस्करण :  नेपाल

विरोध सभालाई संवोधन गर्दै सरकारबाहिरको नेकपाका अध्यक्ष माधवकुमार नेपालले भन्नुभयो, पहिले पहिले राष्ट्रपतिले कू गरे भन्ने सुन्थ्यौं हामी तर अहिले त निर्वाचित व्यक्ति पनि कू गर्ने हुँदा रैछन्,’ नेता नेपालले भन्नुभयो, केपी ओली त्यै हिटलरका संस्करण हुनुभएको छ।’

उहाँले जनता अब डराएर केपी ओलीप्रति नतमस्तक नहुने बताउदै भन्नुभयो विधिको आधारमा देश चलाउन संविधान निर्माण गरियो तर ओली पहिलेका राजा महाराजा जस्ता संविधानभन्दा माथि बसेर संविधान नै च्यात्न थाल्नुभयो । उहाँले वर्तमान संविधान निर्माणकोलागि ७० बर्षभन्दा बढी समयदेखि नेपाली जनताले गरेको संघर्षलाई ओलीले अवमूल्यन गरेको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो‘हामीले सम्भव भएका मात्र कुरा गर्नुस भन्यौं, कोरोनापीडितका लागि केही गरौं भन्यौं, महिला बलात्कार र किसानको कुरा गरौं तर यस्तो यस्तो मान्छेबाट हामी हैरान भयौं,। सरकारबाहिरको नेकपाका अध्यक्ष नेपालले प्रधानमन्त्री के.पी. ओलीले दलीय शासनपद्धतिको पनि उपहास गरेको बताउदै भन्नुभयो, उहाँ ओछ्यान र कुर्सीमा बस्नुभयो, बालुवाटारमा बसेको बैठकमा समेत आउन चाहनुभएन।

नवनियुक्त अध्यक्ष नेपालले प्रधानमन्त्री केपी ओलीको पक्षमा केन्द्रीय समितिका एक सय जना सदस्यमात्र रहेको भन्दै ४ सय ४५ सदस्यीय केन्द्रीय समितिमा आफ्नो समर्थनमा भएका ३ सय सदस्यको संख्या बढी कि १ सय बढी भन्दै निर्वाचन आयोगको ध्यानाकृष्टि गराउनुभएको थियो।

ओलीलाई घुँडा टेकाएर छोड्छौ  : नेता खनाल

कार्यक्रमलाई संबोधन गर्दै नेकपाको वरिष्ठ नेता झलनाथ खनालले केपी ओलीले घुँडा नटेकेसम्म प्रतिगमनविरुद्धको आन्दोलनका कार्यक्रमहरू नरोकिने दाबी गर्नुभएको छ।

‘आज सिंगो देशभरि आम जनता सडक उत्रिएका छन् । जबसम्म प्रतिगमन सकिँदैन। केपी ओलीले घुँडा टेक्दैनन् तबसम्म सडकमा उत्रिन्छौँ’ उहाँले भन्नुभयो ।

उहाँले ५ पौषको घटना लोकतन्त्रविरोधी भएको भन्दै संविधानबाहिर केपी ओली गइसकेको आरोप लगाउनुभयो। उहाँले सार्वभौमसत्ता सम्पन्न जनताका प्रतिनिधिहरुको संविधानसभाले ७ वर्ष लगाएर बनाएको संविधानमाथि प्रधानमन्त्री ओलीले खेडबाड गरेको आरोप पनि लगाउनुभयो ।

जनक्रान्तिको पछिको सर्वोच्च अदालतले संविधान बाहिर नजाने विश्वास पनि व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री के.पी.ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको संयुक्त षड्यन्त्रमा संविधानमा नभएको शक्ति र प्रावधानको उपयोग गरी प्रतिनिधि सभा विघटन गरिएको विरुद्ध नेपाल कम्युनिष्ट पार्टीको ओली विरोधी प्रचण्ड नेपाल समूहले सो कदम सच्याउदै संविधानको संरक्षणको लागि सर्वोच्च अदालतमा कानुनी लडाई पनि लडिरहेको छ भने आम नागरिकहरुलाई पनि ठूलो त्याग र बलिदानले ल्याएको वर्तमान संविधानको रक्षाको निम्ति सजग रहन देशव्यापी विरोध प्रदर्शन र सभाहरु गर्दै आएको छ ।

नेकपाले गत पुस महिनामा घोषणा गरेको एक महिने संघर्षका कार्यक्रम अन्तरगत आज राजधानी काठमाडौंंमा विरोध प्रदर्शन र सभा आयोजना गर्ने कार्यक्रम तय गरेको थियो । विरोध प्रदर्शन र सभामा देशका विभिन्न जिल्लाबाट पार्टी र जनवर्गीय संगठनहरुको ब्यानरमा आएका नेकपाका नेता,कार्यकर्ता,भातृसंगठन र जनवर्गीय संगठन र शुभेच्छुक संगठन, संगठित कार्यकर्ता, मतदाता र शुभेच्छुकहरुको व्यापक सहभागिता रहेको थियो ।

 

 

 

Share Now

Leave a comment.