Prakash Adhikari January 22, 2021

काठमाडौं, ९ माघ । काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा प्रदेश १ ले कर्णाली प्रदेशलाई ५९ रनले पराजित गरेको छ।

समूह ए का ४ खेलमा प्रदेश १ ले कर्णाली उपरमात्र विजय पाएको हो । यो विजयसंगै उसको प्रतियोगिताको खेल यात्रा पनि समाप्त भएको छ । ऊ अंक तालिकाको पुछारमा रहेको छ ।

त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिड. गरेको प्रदेश १ ले दिएको २ सय १६ रनको लक्ष्य पछ्याएको कर्णालीले ३५ ओभरमा सबै विकेट गुमाएर हुँदै १ सय ५६ रन मात्रै बनाउन सक्यो।

उसका लागि विपिन रावलले सर्वाधिक ४७ रन बनाए ।खेलमा निश्चल रावलले ३१, कप्तान रविन्द्रजंग शाहीले १८, दिवन पुन १४ र दिनेश अधिकारी ११ रनको योगदान दिए।

कर्णालीलाई रोक्ने क्रममा प्रदेश १ का मिनास थापाले घातक बलिङ गरे। उनले १० ओभरमा २६ रन खर्चिएर ५ विकेट लिए। यस्तै, दिपेश कँडेलले ३, मनोज तामाङले २ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले ५० ओभरमा ९ विकेट गुमाएर २ सय १५ रन बनाएको थियो। उसका लागि कप्तान सिद्धान्त लोहनीले सर्वाधिक ६६ रन बनाए। त्यस्तै शुभशंकर उराले ३६, मिनास थापाले २५, सर्वन यादव र फिर्दोस अन्सारीले १७–१७ तथा राजन मगरले १० रन जोडेका थिए।

प्रदेश १ लाई रोक्ने क्रममा कर्णालीका रविन्द्र शाहीले ३ विकेट लिए। यस्तै दिनेश अधिकारी र अनुज चुनाराले २–२ विकेट लिँदा दिवन पुन र राज शाहको नाममा एक–एक विकेट रह्यो।

प्रदेश एक ४ खेलमा ३ मा हार र १ मा जित सहित पुछारमा रहँदै समूह ‘ए’ बाट बाहिरिएको छ।

कर्णालीले भने अन्तिम खेल माघ १० मा सशस्त्र प्रहरीको विभागीय टिमसँग खेल्ने छ।

 

Share Now

Leave a comment.