पोखरा(कास्की), २० माघ । प्रदेश नं। ४ को यही माघ २२ गते बस्ते प्रदेश सभाको पहिलो पहिलो अधिवेशनको पहिलो बैठकको कार्यसूची तयार
भएको छ । शनिबार पोखरामा बसेको प्रदेश सभामा निर्वाचित दलहरुको सर्वदलीय बैठकले २२ गतेको कार्यक्रमको खाका बनाएको छ ।
तय गरिएको खाका अनुसार बैठकको सुरुमा प्रदेश प्रमुखबाट प्राप्त पत्र सभामुख(ज्येष्ठ सदस्य)ले बाचन गरेर सुनाउने छन् ।
लगत्तै प्रदेश सभा सञ्चालनको अन्तरिम कार्यविधि पारित हुनेछ । साथै बैठकले सभामुखको अनुपस्थितिमा अर्को सभामुख र उपसभामुखको निर्वाचन नहुँदासम्म संसद सञ्चालनका लागि अध्यक्षमण्डल पनि बनाउने निर्णय भएको छ । त्यसका लागि दलहरुबाट एक एक जनाको उपस्थिति रहने छ ।
अध्यक्ष मण्डलमा कोको रहने भन्ने बिषय दलहरुबाट प्रतिनिधित्व गर्नेको नाम प्राप्त भएपछि टुंगो लगाइने भएको छ ।
बैठकले २२ गते नै सभामुख र उपसभामुखको निर्वाचनको मिति भने तोकिने छैन ।
प्रदेश सभाको दोस्रो र तेस्रो बैठक क्रमशः फागुन ३ गते र फागुन ६ गते बस्ने गरी कार्यतालिका बनाइएको बैठकमा सहभागी एमाले सांसद पृथ्वी सुब्बा गुरुङले बताएका छन् ।
पहिलोअधिवेशनको पहिलो बैठक ऐतिहासिक ढंगले सञ्चालन गर्ने गरी वातावरण तयार भएको छ ।