Prakash Adhikari January 26, 2021

 

काठमाडौं। विश्वकै दोस्रो अग्लो शिखर माउन्ट ‘के-टु’ हिमाल शिशिर याममा आरोहण गरी पहिलो टिम बन्ने ऐतिहासिक कीर्तिमान कायम गरेको नेपाली पर्वतारोही टोलीलाई  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ।

पाकिस्तानमा रहेको हिमाल आरोहण गरेको नेपाली टोली आज बिहान काठमाडौं एअरपोर्टमा ओर्लिएको हो। ‘के-टू’ विजेता टिमलाई ब्यान्डबाजासहित स्वागत गर्दै नगरपरिक्रमा गराउदै पर्यटकीय केन्द्र ठमेल पुर्याइएको थियो । त्यहाँबाट बाजागाजासहित दरबारमार्ग हुँदै नेपाल पर्यटन बोर्डमा लगेर आरोहीहरुलाई सम्मानित गरिएको थियो ।

१० जना नेपाली पर्वतारोहीको टोलीले हिउँद याममा माघ ३ गते शनिवार साँझ करिब ५ : ४५ बजे ‘के-टु’ शिखर चुम्दै कीर्तिमान बनाएको थियो।

शिखरमा पुग्ने १० नेपालीहरूमा निर्मल पुर्जा, मिङ्मा डेभिड शेर्पा, मिङ्मा तेन्जी शेर्पा, गेल्जेन शेर्पा, पेम छिरी शेर्पा, दावा तेम्बा शेर्पा, मिङ्मा जी, दावा तेन्जीन शेर्पा, किलु पेम्बा शेर्पा र सोना शेर्पा रहनुभएको छ।

सन् १९८७ । १९८८ मा पहिलो प्रयास गरिएपछि ‘के-टु’को शिखरमा हिउँदमा पुग्ने थोरै मात्रै प्रयास भएका थिए। यस अघिसम्म ७,६५० मिटरभन्दा माथि कोही पुगेका थिएनन्।

सगरमाथाभन्दा २०० मिटर मात्रै कम उचाइको ‘के-टु’ पाकिस्तान चीन सिमानामा रहेको काराकोरम हिमश्रृङ्खलामा अवस्थित छ।

संसारमा भएका ८,००० मिटरभन्दा अग्ला १४ शिखरमध्ये केटु हिउँदमा आरोहण गर्न सबैभन्दा कठिन मानिन्छ।

केटुको सबैभन्दा गार्‍हो स्थानको रूपमा सन् २००८ मा ११ जना पर्वतारोहीको मृत्यु भएको एउटा साँघुरो स्थान रहेको छ।

सफल आरोहीमध्ये एक निर्मल पुर्जाले लेख्नुभएको छ .’असम्भव सम्भव बन्यो। मानव जातिका लागि इतिहास बन्यो। नेपालका लागि इतिहास बन्यो।’

त्यो क्षण विशेष रहेको लेख्दै उहाँले भन्नुभयो, ‘आरोहण दलका सबै सदस्यले शिखरभन्दा १० मिटर तल कुरेर समूहका रूपमा नेपाली राष्ट्रिय गान गाउँदै शिखरमा पाइला टेकेका हौँ।

के टू विजेता नेपाली आरोहीहरुको टिमलाई पाकिस्तानी सेनाका प्रमुख, पाकिस्तानी सरकारका प्रतिनिधि र पाकिस्तान अल्पाइन क्लब तथा अन्य सरोकारवालाहरुको प्रयासमा आधार शिविरबाट हेलिकोप्टरमा राखेर स्कार्दू भन्ने गाँउमा लगेर भब्य स्वागत तथा बधाई कार्यक्रमको आयोजना गरिएको थियो ।
हिउँदमा के टूको सफल आरोहण गरी पाकिस्तानको पर्वतीय पर्यटनमा योगदान पुर्याउने नेपाली आरोहीहरुलाई पाकिस्तानका राष्ट्रपति इमरान खानले पनि बधाई दिनुभएको थियो ।

सोमवार भारतीय राष्ट्रिय कांग्रेस पार्टीका नेता राहुल गान्धीले पाकिस्तान र चीनको सीमामा रहेको केटु हिमालको सफल आरोहण गर्ने नेपाली टोलीलाई बधाई दिनुभएको थियो।

 

 

Share Now

Leave a comment.