मेलबर्न(अष्ट्रेलिया), १४ माघ । नेपाली क्रिकेट स्टार सन्दीप लामिछाने आबद्ध होवर्ट हुरिकेन्स अष्ट्रेलियामा जारी विग ब्यास लिगको प्लेअफ चरणमा जान असमर्थ भएको छ ।
मंगलबार भएको लिग चरणको अन्तिम खेलमा मेलबर्न रेनेगेड्ससंग ११ रनले पराजित भएसंगै होबार्ट हरिकेन्सले यस पटकको बिग ब्यास लिग यात्रामा बिट मारेको हो ।
मेलबर्न क्रिकेट ग्राउण्डमा सम्पन्न खेलमा रिनेगेट्सले दिएको १ सय ५१ रनको लक्ष्य पछ्याउने क्रममा होबार्टले १ सय ३९ रन मात्र बनाउन सक्यो।
खेलमा रिनेगेट्सका फास्ट बलर ज्याक इभान्स एक्लैले ५ विकेट लिंदै होबार्टको प्लेअफ पुग्ने सपना भताभूंग पारिदिए।
लिग चरणमा आफूले खेलेका १४ खेलमा ७ जित र ७ हार बेहोर्दै होबर्ट हुरिकेन्स अंकतालिकाको छैठौं स्थानमा रह्यो।
समान अंक रहेको एडिलेड नेट रन रेटमा अघि रहँदै पाँचौ स्थानमा रह्यो। एडीलेडको नेट रन रेट +०.१०५ रह्यो भने होबार्टको -०.१८७ रहयो। लिगको पछिल्लो ७ खेलमा होबार्ट ५ खेलमा पराजित हुन पुग्यो र नेट रन रेटमा पछि पर्दै प्लेअफ पुग्न असफल रह्यो।
सिड्नी सिक्सर्स, पर्थ स्करचर्स, सिड्नी थन्डर्स, ब्रिसबेन हिट र एडिलेड स्ट्राइकर्स अंकतालिकामा पहिलो देखि पाँचौ स्थानमा रहँदै प्लेअफ चरण पुग्न सफल भए।
लिगको प्लेअफ चरणको पहिलो खेलमा अंकतालिकामा चौथो स्थानमा रहेको ब्रिसबेन र पाँचौ स्थानको एडिलेडले इलिमिनेटरमा शुक्रबार प्रतिस्पर्धा गर्नेछन्।
यस्तै शनिवार क्वालिफायरमा पहिलो र दोश्रो स्थानमा रहेका सिड्नी सिक्सर्स र पर्थ स्करचर्सले प्रतिस्पर्धा गर्नेछन् । यो खेलको विजेता सोझै फाइनल खेल्नेछ। आइतबार हुने नकआउटमा अंकतालिकामा तेश्रो स्थानमा रहेको सिड्नीले ब्रिसबेन र एडीलेड बीचको इलिमीनेटरको विजेतासंग प्रतिस्पर्धा गर्नेछ। नकआउटमा विजयी हुने टिम र क्वालिफायरमा पराजित हुने टिम बीच फाइनल पुग्न प्रतिस्पर्धा हुनेछ।
सन्दीपको प्रदर्शन
कोरोनाले थलिएर तंग्रिएपछि बिग ब्यास लिगको तेस्रो सिजन खेल्ने क्रममा होबार्टको पहिलो पटक प्रतिनिधित्व गरेका नेपाली लेग स्पिनर सन्दिप लामिछानेले कुल ८ खेल खेल्दा ८ विकेट लिए। यसपटक उनी तीन खेलमा विकेटबिहिन बने । अन्तिम खेल पनि उनका लागि संझनयोग्य भएन । मेलबर्न रिनिगेट्सबिरुद्धको खेलमा सन्दीपले ३५ रन खर्चेदा पनि विकेट लिन सकेनन्।
लिग अन्तर्गत सन्दीपले पहिलो खेलमा मेलबर्न स्टार्स बिरुद्ध २ विकेट, स्टार्स बिरुद्ध दोश्रो खेलमा १ विकेट लिएका थिए। तेश्रो खेलमा सिड्नी थन्डर्स बिरुद्ध सन्दिपले १ विकेट लिए जसपछि पर्थसंग चौथो र सिड्नी थन्डर्सबिरुद्ध पाँचौ खेलमा उनी विकेटविहिन रहे। छैठौं खेलमा पर्थ र सातौँ खेलमा सिड्नी सिक्सर्स बिरुद्ध सन्दिपले २ । २ विकेट लिए। आठौँ खेलमा मेलबर्न रेनेगेड्स बिरुद्ध सन्दीप विकेटविहिन रहे।
८ खेलमा ३१ ओभर बलिंग गर्ने क्रममा सन्दीपले ७.५४ रन प्रतिओभर को रेटमा २ सय ३४ रन खर्चिए।
बिग ब्यास लिगको गत सिजन (२०१९ २०)मा मेलबर्न स्टार्सको लागि खेल्ने क्रममा सन्दिपले १३ खेलमा १५ विकेट हात पारेका थिए। यस्तै २०१८ १९ मा पहिलो सिजन स्टार्सबाटै खेलेका सन्दीपले ८ खेलमा ११ विकेट लिएका थिए।
बिग ब्यास लिगको तीन संस्करणमा खेल्दा सन्दिपले कुल २९ खेलमा ३४ विकेट आफ्नो नाम गरेका छन्।
आफ्नो टिम प्लेअफ पुग्न असमर्थ भएकोले सन्दीप केही दिनभित्रै नेपाल फर्कने तयारीमा छन् । केही दिनका आरामपछि सन्दीप राष्ट्रिय क्रिकेट टिमको बन्दप्रशिक्षणमा सहभागी हुनेछन्।
नेपाली राष्ट्रिय क्रिकेट टिमले फेब्रुअरी १ तारिख (माघ १९ ) देखि बन्द प्रशिक्षक सुरु गर्नेछ। त्यसपछि सन्दीप राष्ट्रिय टिमले फेब्रुअरी ९ देखि १२ तारिख ( माघ २७ देखि ३० ) सम्म कतारसंग खेल्ने मैत्रीपूर्ण टी २० अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुनेछन्।