Prakash Adhikari January 27, 2021

 

कीर्तिपुर)काठमाडौं), १४ माघ । सशस्त्र प्रहरीको विभागीय टिम प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको सेमिफाइनल खेलमा नेपाल प्रहरीलाई ३० रनले पराजित गर्दै सशस्त्र प्रहरीको विभागीय टिम पुगेको हो ।

अब उपाधिका लागि सशस्त्रले बागमती प्रदेश र नेपाली सेनाको त्रिभुवन आर्मी क्लबको विजेतासँग खेल्नेछ ।

बुधबारको खेलमा सशस्त्र प्रहरीको टिमले दिएको २ सय ४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपाल प्रहरीको टिमले ४९ ओभर २ बलमा अलआउट हुँदै १ सय ७३ रनमै समेटियो ।

नेपाल प्रहरीको लागि पवन सर्राफले ४० रन बनाए । यस्तै, राशिद खानले ३४, दिपेन्द्र सिंह ऐरीले ३३, अनिल साहले २१, आरिफ शेखले १६ र सागर ढकालले ११ रन जोडे ।

सशस्त्र प्रहरीको बलिंगमा भुवन कार्कीले सर्वाधिक ४ विकेट लिए। कमल सिंह ऐरी, अविनाश बोहरा र शरद भेसावकरले समान २ । २ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको सशस्त्रको टिमले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन बनाएको थियो।

सशस्त्रको लागि शंकर रानाले सर्वाधिक ४४ रन तथा भुवन कार्कीले ४२ रन बनाए। सन्दीप जोराले ३४ रन, सुबास खकुरेलले १९ रन तथा शरद भेसावकरले १८ रन बनाए।

नेपाल प्रहरीको बलिंगमा आरिफ शेखले सर्वाधिक ३ विकेट लिए भने ललित राजबंशी र दिपेन्द्र ऐरीले समान २ विकेट लिए । त्यस्तै राशिद खान र सागर ढकालले १ । १ विकेट लिए।

प्रतियोगिता अन्तर्गत दोश्रो सेमीफाइनल खेलमा बिहिबार नेपाली सेनाको विभागीय टिम त्रिभुवन आर्मी क्लब र बागमती प्रदेशले प्रतिस्पर्धा गर्नेछन्।

माघ २ गतेदेखि सुरु भएको प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख पुरस्कारसहित कप र सम्मान पत्र प्रप्त गर्नेछन् । त्यस्तै, सेमिफाइनलिस्टले प्रति टिम ५० हजार रूपैयाँ इनाम प्राप्त गर्नेछन् ।

 

Share Now

Leave a comment.