बुटबल(रुपन्देही), २१ माघ । प्रदेश नं ५ को प्रदेश सभा बैठकको तयारी पूरा भएको छ ।
प्रदेश प्रमुख उमाकान्त झाले आज दिउँसो १ बजेदेखि बस्ने गरि पहिलो प्रदेशसभाको पहिलो अधिवेशन आह्वान गरेपछि बैठकको तयारी थालिएको हो ।
प्रदेश सभाको पहिलो अधिवेशनको पहिलो बैठकलाई ऐतिहासिक बनाउन सबै हिसाबले तयारी पूरा भएको जेष्ठ सदस्य तथा सभामुख बलदेव शर्मा पोखरेलले बताए ।
प्रदेशसभा बैठकका लागि बुटवल उद्योग वाणिज्य संघको भवनलाई चिटिक्क पारेर सिँगारिएको छ ।
प्रदेश ५ मा पर्ने बाँके, बर्दिया, दाङ, रुकुमपूर्व, रोल्पा, प्यूठान, गुल्मी, अर्घाखाँची, रुपन्देही ,कपिलबस्तु ,पाल्पा र नवलपरासी पश्चिमका सांसदहरु बुटबलमा जम्मा हुँदैछन् । टाढाका सांसदहरु आइपुगेका छन भने नजिकका आउने क्रममा रहेका छन् ।
५ नम्बर प्रदेशबाट नेकपा एमाले ४१, नेपाली कांग्रेस १९, माओवादी केन्द्र २०, संघीय समाजवादी फोरम ५, राष्ट्रिय जनता पार्टी १ र राष्ट्रिय जनमोर्चा १ गरी ८७ सांसद छन् ।
पहिलो अधिवेशनको पहिलो बैठकमा ७९ वर्षीय जेष्ठ सदस्य बलदेव शर्मा पोखरेलले पहिलो बैठकको सभामुखको भूमिका निर्वाह गर्नेछन् । बैठक शुरु हुनसाथ सभामुख पोखरेलले प्रदेश प्रमुख उमाकान्त झाको प्रदेशसभा आह्वान सम्बन्धी पत्र पढेर सुनाउने कार्यक्रम छ ।
त्यसलगत्तै शहीदप्रति सम्मान गर्दै मौनधारण गर्ने र राष्ट्रिय गानमा सरिक हुने गरि सामान्य नियम बनाइएको छ ।
पहिलो बैठक भएकाले सभामुखले प्रदेश सांसदहरुलाई सम्बोधन गर्ने छन्।
त्यसलगत्तै ५ नम्बरप्रदेशबाट प्रतिनिधित्व गर्ने एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम, राजपा र राष्ट्रिय जनमोर्चाका सांसदहरुले १० मिनेटका दरले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
प्रदेशसभाको बैठकको कार्यसूचीमा प्रदेश प्रमुखको पत्र, अन्तरिम प्रदेशसभा सञ्चालन कार्यविधि प्रस्ताव र आउँदो माघ २८ गतेका लागि सभामुखको निर्वाचनसम्बन्धी सूचना समावेश गरिएको छ ।
अधिवेशन अवधिका बैठकहरुको समाचार संप्रेषणमा सञ्चारकर्मीलाई सुविधा होस भनेर बुटवल उद्योग बाणिज्य संघमा मिडिया सेन्टर स्थापना गरिएको छ ।