Prakash Adhikari February 4, 2018

 

 

धनगढी(कैलाली),२१ माघ ।प्रदेश नं ७ मा आज प्रदेशसभाको पहिलो अधिवेशनको पहिलो बैठक बस्दै छ।

बैठकका लागि  सभाहलको तयारी पूरा भएको छ ।

प्रदेश ७ मा प्रदेशसभा बैठकका लागि ५४ वटा कुर्सी भाडामा ल्याएर बन्दोबस्त गरिएको छ ।

प्रदेश सभाको यो अधिवेशन जिल्ला समन्वय समितिको हलमा बस्दैछ ।

प्रदेशका संसदीय दलका कार्यालयमा पनि कुर्सी र मेच लगाउनै बाँकी छ।

संसद् सचिवालयका लागि एउटा कोठामा तीनवटा कुर्सी राखेर सञ्चालन गरिएको छ ।

प्रदेश कार्यालय व्यवस्थापन समितिले आइतबारको बैठक सञ्चालन हुने गरी तयारी गरेको जनाएको छ। कार्यालय व्यवस्थापन समितिका सदस्यसचिव तथा सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनगढीका प्रमुख रवीन्द्र बोहराले माघ ४ गतेदेखि सबै निकायलाई खटाएर काम गरिएको बताए ।

५३ सदस्यीय प्रदेशसभामा एक जना ज्येष्ठ सदस्य सभामुखको मेचमा बस्ने भएकाले ५२ वटा कुर्सी धनगढीको शुभ श्री प्यालेसबाट भाडामा ल्याइएको छ । ‘
शपथका लागि पनि त्यहीँबाट कुर्सी ल्याइएको हो, त्यसमा कभर पनि छ, हामीले अर्डर गरेका सबै कुर्सी बनिसकेका छैनन्। दोस्रो बैठकमा भने हामी पूरै तयारी सक्छौं’, बोहराले भने।

प्रदेश कार्यालय व्यवस्थापन समितिले हलको मर्मत, पर्खाल र घेरबार, रंगरोगन, ब्लक लगाउने र फूल बगैंचाको आकारमा पनि ध्यान पुर्याइएको छ ।

‘शनिबार रात अबेरसम्म साउन्ड सिस्टम र प्रदेशसभा सदस्यको टेबुलमा माइक जोड्ने काम भएको छ ।

आइतबार दिउँसो एक बजेका लागि तोकिएको पहिलो प्रदेशसभा बैठकको कार्यविधि शुक्रबार नै बनिसकेको छ।

पहिलो बैठकमा पेस गरिने एजेन्डालगायतको टुंगो लागिसकेको प्रदेश संसद् सचिवालयका सचिव मुरारी महतले बताए।

पहिलो बैठकमा सभामुखको भूमिका ज्येष्ठ सदस्य कांग्रेसबाट प्रदेशसभा सदस्य दिव्यश्वरी शाहले गर्नेछिन् भने बैठकले सभामुख मण्डलका तीन जना माननीय पनि आइतबार नै चयन गर्नेछ।

सर्वदलीय बैठकले तय गरेको कार्यसूचीअनुसार प्रदेशसभाको पहिलो बैठकमा प्रदेश संसदमा प्रतिनिधित्व गर्ने चार दलका तर्फबाट एक–एक जना सांसद बोल्नेछन् भने सभामुख र उपसभामुखको चुनावको मिति तय गरिनेछ।

प्रदेश संसद् सञ्चालन गर्नका लागि आवश्यक पर्ने ३० जना मर्यादापालक पनि तयार भइसकेका छन्।

शनिबार सबै मर्यादापालकलाई संसद् भवनमा ल्याएर बैठकको सुरक्षाबारे जानकारी गराइएको छ।

मर्यादापालकको तालिमका संयोजक एसपी जनकराज पाण्डेले आइतबारको बैठकमा ३० जनालाई नै खटाइने बताए।

‘सबैका दौ सुरुवाल, कालो कोट र कालो भादगाउँले टोपी तयार भइसकेका छन्’, एसपी पाण्डेले भने।

संसद् भवनमा शनिबार प्रदेशसभा सदस्यको आवतजावत सुरु भएको छ।

प्रदेश संसद् सचिवालयले आइतबार बिहान सबै सांसदलाई संसद् भवन बोलाएर पूर्वाभ्यास गरिने जनाएको छ।

जसमा मर्यादापालक, ज्येष्ठ सदस्यको प्रस्तुति र प्रदेश सदस्यलाई बोल्ने पूर्वाभ्यास गराइने कार्यक्रम छ ।

Share Now

Leave a comment.