काठमाडौं, १७ माघ । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड-माधव समूहले प्रतिनिधसभा विघटनको विरोधमा आज कैलालीको धनगढीमा विरोध सभा गर्दैछ।
सभालाई सम्बोधन गर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धनगढी पुगिसक्नुभएको छ ।
भेलालाई प्रचण्डसहित अर्का अध्यक्ष माधवकुमार नेपाल, सुदूरपश्चिम प्रदेशका इन्चार्ज भीम रावललगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत पाष ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा प्रचण्ड(माधव समूहले प्रतिनिधिसभाको पुनस्थापनाको लागि चरणवद्ध सडक आन्दोलन गरिरहेको छ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा), सुदूरपश्चिम प्रदेश कमिटीको आयोजनामा भइरहेको विरोध जनसभाको एक झलक: pic.twitter.com/fmx75bF64w
— Bhim Rawal, PhD (@BhimRawal179) January 30, 2021
ओली समूहको चितवनमा शक्ति प्रदर्शन
आजै प्रधानमन्त्री केपी शर्मा ओली समूहले चितवनको भरतपुरमा आफ्नो शक्ति प्रदर्शन गर्र्ने बताइएको छ ।
बहुउद्देश्यीय सिटी हल निर्माण र महेन्द्रराजमार्गको पुल्चोक– गोन्द्राङ सडकलाई ६ लेनको फराकिलो बनाउने कामको शिलान्यास गर्नका लागि चितवनमा चार मन्त्री र एक राज्यमन्त्रीसहित पुग्नुभएका प्रधानमन्त्री ओलीले उद्घाटन कार्यक्रमपछि बसपार्कमा आयोजित आमसभालाई सम्बोधन गर्ने कार्यक्रम पनि राखिएको छ ।

प्रधानमन्त्रीका साथमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, भौतिक योजना पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङ, शहरी विकास मन्त्री प्रभु शाह, राज्यमन्त्री रामवीर मानन्धर पनि भरतपुर पुग्नुभएको छ।
यता भरतपुर महानगरपालिका र नेकपा प्रचण्ड–नेपाल समूहले भने प्रधानमन्त्रीको शिलान्यास कार्यक्रमप्रति आपत्ति जनाएका छन्।
महानगरकी प्रमुख रेणु दाहालले संघीयताको मर्मविपरीत केन्द्रकृत शासनको झल्को दिनेगरी स्थानीय सरकारको अधिकारमाथि हस्तक्षेप भएको बताउनुभएको छ।
प्रधानमन्त्री ओलीको कार्यक्रमको विरोधमा प्रचण्ड–नेपाल समूहले भरतपुरका मुख्य सडकमा टायर बालेर विरोध प्रदर्शन गरेका छन्।
भरतपुरको मुख्य चोकहरुमा टायर बालेको र नारायणगढको मुख्य बजारको सडकमा १० हजार पर्चा छरेको अनेरास्ववियूका केन्द्रीय सदस्य सुरज सिंह ठकुरीले जानकारी दिनुभएको छ।
प्रचण्ड नेपाल समूहले हिजो प्रदेश नं १ को राजधानी विराटनगरमा आफ्नो शक्ति प्रदर्शन गरेको थियो ।


















