काठमाडौं, २० माघ । पाकिस्तानमा रहेको विश्वको दोस्रो उच्च शिखर माउण्ट केटु शिशिर याममा आरोहण गरेर कीर्तिमान बनाएको नेपाली पर्वतारोही टोलीका नेता निर्मल पुर्जालाई नेपाल पर्वतारोहण संघले सद्भावना दूत चयन गरेको छ।
मंगलबार बसेको संघको केन्द्रीय कार्य समितिले सन् २०२१ भरिका लागि आरोही पुर्जालाई सद्भावना दूत नियुक्त गरेको हो।
सद्भावना दूत नियुक्त पुर्जाले यो एक वर्षको अवधिमा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालका हिमालका साथै नेपाल पर्वतारोहण संघको प्रचारप्रसार गर्नुहुने बताइएको छ।
विश्वमै सबैभन्दा कम समय ६ महिना ६ दिनमा संसारका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालको सफल आरोहण गरी किर्तिमान बनाएका पूर्जालाई संघले १ लाख रुपैयाँ नगद पुरस्कारसमेत प्रदान गरेको छ।
तर आरोही पुर्जाले सो पुरस्कार रकम नयाँ योजनासाथ हिमाल आरोहण गर्ने आरोहीलाई दिने बताउनुभएको छ ।
नेपाल पर्वतारोहण संघले केटु आरोहण टोलीका १० जना नेपाली आरोहीलाई संघको १० वर्षको सदस्यता नवीकरण शुल्क मिनाहा गर्ने निर्णय गरेको छ।
माउण्ट केटुको शिशिर आरोहण दलमा निर्मल पुर्जासँगै मिङ्मा डेभिड शेर्पा, पेमछिरी शेर्पा,गेल्चिन शेर्पा ,पेम छिरी शेर्पा, दावातेम्बा शेर्पा, मिङमा जी, दावा तेन्जिन शेर्पा, किलु पेम्बा शेर्पा र सोना शेर्पा संलग्न हुनुहुन्थ्यो।
संघकी उपाध्यक्ष एवं सगरमाथा आरोही संघकी अध्यक्ष माया शेर्पाको अध्यक्षतामा गठित समितिको सुझावअनुसार शुल्क मिनाहा गरिएको संघले जनाएको छ।