Prakash Adhikari February 7, 2021

काठमाडौं,२४ माघ । नेपाली कांग्रेसप्रति आस्थावान सहकारीकर्मीहरुले ८ अर्ब रुपैयाको चुक्ता पूँजी रहने गरी सहकारी बैंक दर्ता गर्ने प्रक्रिया सुरु गरेका छन् ।

नेपाली कांग्रेसको सहकारी विभागका सदस्य रहेका सुरेन्द्र भण्डारीको अध्यक्षतामा बनेको २५ सदस्यीय तदर्थ समितिसहित सहकारीकर्मीले नयाँ सहकारी बैंक स्थापनाको लागि सहकारी विभागमा फाइल पेश गरेका छन् ।

नेपाली कांग्रेसको सहकारी विभाग प्रमुख एवं पूर्वमन्त्री आनन्द ढुंगाना, सहकारी विकास बोर्डका सहअध्यक्ष पुष्प पौडेल सहितको टोलीले विभागका बैंक दताका निवेदन र आवश्यक कागजातहरु बुझाएको थियो ।

प्रस्तावित बैकका अध्यक्ष सुरेन्द्र भण्डारीले सम्पूर्ण कागजातसहित प्रक्रिया पुरागरी बैंक दर्ता गर्न ५ सय ६९ फाइल विभागका रजिष्ट्रार टोकराज पाण्डेलाई हस्तान्तरण गर्नुभएको थियो ।

फाइल बुझ्दै रजिष्ट्रार पाण्डेले सहकारी ऐन र नियमले तोकेबमोजिम प्रक्रिया अघि बढाउने जानकारी दिनुभएको थियो ।

‘विधिवत् रुपमा फाइल बुझेका छौं, अपुग भएमा फेरी कागजात मागेर प्रक्रिया थाल्नेछौं,’ पाण्डेले भन्नुभयो ।

बैंक दर्ताका लागि ५ सय १ फाइल आवश्यक पर्नेमा ५ सय ६ फाइल तयार गरी विभागमा पेश गरिएको थियो । दर्ताका लागि ९ सय ७५ फाइल तयार भएका थिए ।

बैंक स्थापना गर्न न्यूनतम ३ अर्बको चुक्ता पूँजी आवश्यक पर्ने भएपनि ८ अर्ब पूँँजी तयार भएको प्रस्ताबित बैकका अध्यक्ष सुरेन्द्र भण्डारीले जानकारी दिनुभएको छ।

‘विभागले फाइल अध्ययन गरी प्रकृया शुरु गर्नेछ । बैंक दर्ताका लागि सहकारी महासंघले सहमति दिनुपर्नेछ, ऐनअनुसार बैकको स्वीकृति नेपाल राष्ट्र बैंकले दिनेछ,’ तदर्थ समितिका अध्यक्ष रहनुभएका भण्डारीले भन्नुभयो ।

यही माघ १७ गते राजधानीमा सम्पन्न भएको प्रारम्भिक भेलाले सम्पूर्ण प्रकृया पूरा गरी दर्ता प्रकृया अघि बढाएको थियो ।

देशभरका करिब १ हजार सहकारी संस्था सदस्य रहेको बैंक दर्ता भएसँगै राष्ट्रिय सहकारी बैकको एकाधिकार तोडिने भएको छ ।

प्रस्ताबित बैकको सञ्चालक समितिमा झापाबाट दुर्गाप्रसाद सापकोटा, सर्लाहीबाट नागेन्द्र कुमार, पर्साबाट राजेन्द्रप्रसाद जयसवाल र विनोदकुमार दत्त, भक्तपुरबाट विदुरमान सिं बस्नेत, चितवनबाट दिनेश चुके, गोरखाबाट हरिमान अधिकारी, कास्कीबाट ध्रुवराज पौडेल, स्याङ्जाबाट केशवप्रसाद लम्साल, बाँकेबाट ललित पहाडी, सुर्खेतबाट पदम दाहाल, कैलालीबाट तुलसा देवकोटा र काभ्रेबाट गिता सिग्देल दाहाल सदस्यमा रहनुभएको छ।

बैंकको तदर्थ समितिमा काठमाडौंबाट शम्भुप्रसाद घिमिरे, राममान सिंह महर्जन, पुष्पबहादुर पौडेल, सिताराम काफ्ले, राजाराम बुढाथोकी, डा. ज्ञानेन्द्रप्रसाद पौडेल र दिलिप पौडेल सदस्य हुनुहुन्छ ।

यसैगरी ललितपुर जिल्लाबाट माधव दुलाल, सरदकुमार महर्जन, शशि खड्का र विनोद डंगोलले समितिमा प्रतिनिधित्व गर्नुभएको छ ।

काठमाडौंका कृष्ण मगरको संयोजकत्वमा तीन सदस्यीय लेखा  सुपरीवेक्षण समिति गठन भएको छ ।

Share Now

Leave a comment.