Prakash Adhikari February 11, 2021

 

वाशिंटन डी.सी.(संयुक्त राज्य अमेरिका), २९ माघ (बीबीसी) । अमेरिकी सिनेटमा प्रतिनिधित्व गर्ने डेमोक्र्याटहरूले पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध दोस्रो महाभियोगसम्बन्धी सुनुवाइमा आफ्ना मुद्दा निर्धारण गरिरहेका छन्।

उनीहरूले गत ज्यानुअरी ६ मा ट्रम्पका समर्थकहरूले संसद्‌भवनमा आक्रमण गर्न लागेको समयको नयाँ भिडिओ देखाएका छन्।

उक्त भिडिओमा एक पुरुषले सुरक्षाकवच लगाएको र अर्का व्यक्तिले वरिष्ठ डेमोक्र्याट नेत्री न्यान्सी पेलोसीलाई खोजिरहेको देखिन्छ।

संसद्‌भवनभित्र भिड पस्न खोज्दा प्रहरीहरू आत्तिएको रेडिओ सन्देश पनि सिनेटरहरूलाई सुनाइएको छ। गत महिनाको घटना ट्रम्पको एक दिनको भाषणले मात्र नभएको वक्ताहरूले सिनेटलाई बताएका छन्।

डेमोक्र्याट सांसदहरूले उक्त घटना गराउनका लागि पदासीन राष्ट्रपति ट्रम्पले ‘इन्साइटर -इन -चीफ’ अर्थात् ‘प्रमुख उत्तेजक’ को भूमिका निर्वाह गरेको आरोप लगाएका छन्।

बीभत्स

अर्को भिडिओमा ‘उनलाई झुन्डाऊ’ भन्ने नारा लागिरहेका बेला उपराष्ट्रपति र उहाँको परिवारलाई सुरक्षित स्थानतिर लगिएको देखिन्छ। उपराष्ट्रपति पेन्सले ट्रम्पलाई निर्वाचनमा विजयी भएको प्रमाणीकरण गर्ने दबाव मान्न अस्वीकार गर्नुभएको थियो ।

बुधवार देखाइएका केही फुटेजमा बीभत्स दृश्यहरू पनि छन्। मोबाइलमा खिचिएको एउटा भिडिओमा ट्रम्पकी एक समर्थकलाई गोली लागेर मृत्यु भएको देखिन्छ। अर्को भिडिओमा एक सुरक्षाकर्मी भिडमा च्यापिएर चिच्याएको सुनिन्छ।

सुनुवाइका क्रममा संसद्‌भवनमा दुःखद घटना रोक्न ट्रम्प असफल भएको भन्दै तत्कालीन राष्ट्रपतिको आलोचना गरिएको।

‘राष्ट्रपति ट्रम्पले क्यापिटलमा भएका सबैलाई परित्याग गर्नुभएको थियो’, सांसद वाकीन कास्ट्रोले भन्नुभयो।

बन्दुक बोलेका एक प्रदर्शनकारी न्यान्सी पेलोसीको कार्यकक्षमा छिरेर यसरी बसेका थिए

 

Share Now

Leave a comment.