काठमाडौ., २ फागुन । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को बहुमत केन्द्रीय सदस्यहरु रहेको प्रचण्ड–नेपाल समूहले प्रतिनिधिसभाको असंवैधानिक विघटन तथा प्रतिगमनविरुद्ध आज चौथो चरणको आन्दोलनको घोषणा गर्ने भएको छ।
प्रतिनिधिसभा विघटनविरुद्ध सडक संघर्षमा रहेको प्रचण्ड नेपाल समूहले दिउँसो पत्रकार सम्मलेन मार्फत अर्को चरणको आन्दोलनको घोषणा गर्न लागेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभएको छ।
कोटेश्वर पेरिसडाँडास्थित पार्टी कार्यालयमा दिउँसो २ बजे पत्रकार सम्मेलन आयोजना गरिएको श्रेष्ठले जानकारी दिनुभएको छ।
प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि त्यसको विरोधमा प्रचण्ड–नेपाल समूहले आन्दोलन गर्दै आएको छ।
पार्टीको नियन्त्रणभन्दा बाहिर गएकोले पार्टी अध्यक्ष के.पी. शर्मा ओलीलाई पार्टीको अध्यक्ष र साधारण सदस्यताबाट समेत हटाएको बहुमत केन्द्रीय सदस्यहरु रहेको प्रचण्ड नेपाल समूहले केन्द्रदेखि जिल्लातह सम्मका जनवर्गीय संगठनहरुको पुनर्गठन र परिचालन पनि संगसंगै गर्दै आएको छ ।


















