करापुटार (लमजुङ), ३ फागुन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले लमजुङ मध्यनेपाल नगरपालिका–७ करापुटारमा रहेको ऐतिहासिक तथा धार्मिक इशानेश्वर महादेव मन्दिरको प्रचारप्रसार गर्नुपर्ने बताउनुभएको छ । मुख्यमन्त्री गुरुङले आज यस मन्दिर परिसरमा धर्मशाला भवनको शिलान्यास गर्दै यस मन्दिरको विशेषताका बारेमा जानकारी गराउन आवश्यक रहेको बताउनुभयो ।

मन्दिर परिसरमा निर्माण हुन लागेको धर्मशाला भवनको लागि प्रदेश सरकारले रु ५० लाख विनियोजित गरेको छ । यस बजेटले यस आर्थिक वर्षभित्रै सक्ने गरी आठ वटा कोठाको एक तले भवन निर्माण हुने इशानेश्वर महादेव मन्दिर क्षेत्र विकास समितिका कोषाध्यक्ष गजेन्द्रराज घिमिरेले बताउनुभयो । प्रदेशले आगामी आवमा पनि बजेट उपलब्ध गराउने र सोही रकमले भवन थप गर्दै जाने उहाँको भनाइ छ ।
यहाँ प्रत्येक वर्षको शिव रात्रिमा सन्तान प्राप्तिका लागि एक हजार ५०० देखि दुई हजार जनाले ठाडो बत्ती बाल्ने गरेको समितिले जनाएको छ । समितिका अनुसार यहाँ सतीदेवीको दाइने तिघ्रा पतन भएको श्रीस्वास्थानी ब्रत कथामा उल्लेख छ । यसलाई इशानेश्वर महादेवबाट र सन्तानेश्वर महादेवको रुपबाट परिचित छ । यस मन्दिरमा सन्तान नभएका महिलाले शिवरात्रिमा रातभरी ठाडो बत्ती बालेर बसेमा सन्तान प्राप्त हुने जनविश्वास रहिआएको छ ।


















