काठमाडौँ, ३ फागुन । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अदालतमा विचाराधीन मुद्दामा कांग्रेसले धारणा नबनाउने बताउनुभएको छ । कांग्रेस रुपन्देहीले भैरहवामा आज आयोजना गरेको विरोधसभामा पूर्वप्रधानमन्त्री देउवाले भन्नुभयो, “अदालतमा विचाराधीन मुद्दाको विषयमा हामी बोल्नु हुँदैन । अदालतले संसद् पुनःस्थापना गरे त्यहीअनुसार गरौँला, चुनाव गर भने चुनावमा जाऔँला ।’’
जुलुसको आधारमा अदालतले निर्णय गर्ने हो भने किन चाहियो कानून भन्दै सभापति देउवाले कम्युनिष्टको झगडाले कांग्रेसमा समस्या शुरु भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यिनको झगडाले हाम्रो पार्टीमा समेत समस्या आइरहेको छ ।”
उहाँले निर्वाचन आयोगको काम प्रभावकारी नभएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “निर्वाचन आयोग किन चुपचाप छ । कुनै पनि संसद्को विघटन भएको छ महिनाभित्र चुनाव गराउनैपर्छ तर निर्वाचन आयोगलाई वास्ता छैन ।”
पूर्वमन्त्री भरतकुमार शाहले प्रधानमन्त्री केपी शर्मा ओलीले जुलुसको लागि तयारी मान्छे तयार गरेर प्रर्दशन गराइरहेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “बुटवल, दरबारमार्ग र धनगढीमा रेडिमेड मान्छे जम्मा गरियो ।” सभामा कांग्रेस नेता बालकृष्ण खाँणले यो संविधानबाट कसैले पनि लोकतन्त्र, प्रजातन्त्रलाई रोक्न सक्दैन भन्नुभयो ।
संविधानको रक्षा मुख्य चुनौती : अर्जुननरसिंह केसी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले कांग्रेसले सम्मानीत सर्वोच्च अदालतलाई दबाब र प्रभावित पार्न नचाहेको बताउनुभएको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति काठमाडौँद्वारा आज बसन्तपुर डबलीमा आयोजित विरोधसभामा नेता केसीले संविधानमा जे लेखिएको छ त्यही कुराको पालना होस् भन्ने पक्षमा कांग्रेस रहेको स्पष्ट पार्नुभयो ।
संविधानमा उल्लेखित धाराहरुको अनावश्यक व्याख्या गर्न हुँदैन भन्ने कांग्रेसको अडान रहेको उहाँले उल्लेख गर्नुभयो । संविधानमा उल्लेख गरिएका धाराहरुलाई टेकेर अदालतले प्रतिनिधिसभा विघटनको मुद्दाको फैसला गर्नुपर्नेमा नेता केसीले जोड दिनुभयो । आफ्नो पार्टीले विरोधसभा र आन्दोलन गरेर अदालतलाई कुनै पनि हालतमा प्रभावित पार्न नखोजेको उहाँको भनाइ थियो ।
कांग्रेस विधिको शासन, संविधानको रक्षा र लोकतन्त्रको रक्षाका निम्ति सधैँ लडिरहने उहाँले स्पष्ट पार्नुभयो । संविधानको रक्षा र आफ्नै पार्टीको विधानको रक्षा गर्नु कांग्रेसका सामु अहिलेको मुख्य चुनौती भएको नेता केसीको भनाइ थियो ।
काँग्रेस जिल्ला कार्यसमिति काठमाडौँका सभापति सबुज बानियाँको सभापतित्वमा भएको विरोधसभामा कांग्रेस केन्द्रीय सदस्य अम्बिका बस्नेतले काँग्रेसलाई जनमत लिनका लागि जनतामाझ जान कुनै डर नभएको स्पष्ट पार्नुभयो । काँग्रेस नेताहरु भीमसेनदास प्रधान, राजेन्द्रकुमार केसी, दिव्यमणि राजभण्डारी तथा काठमाडौँ महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीलगायतले समेत आफ्नो धारणा राख्नुभएको थियो ।
कांग्रेसले एक्लै सडक सङ्घर्ष गर्ने :महेश आचार्य

विराटनगरबाट प्राप्त समाचार अनुसार कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेस एक्लै सडक सङ्घर्ष गर्ने बताउनुभएको छ । कांग्रेस जिल्ला कार्य समिति मोरङद्वारा आज यहाँ आयोजित सभालाई सम्बोधन गर्दै उहाँले प्रधानमन्त्रीको पछिल्लो कदमको विषयमा सर्वोच्च अदालतमा पनि बहस भइरहेकाले सर्वोच्च अदालतले संविधानको मर्म एवं भावनानुसार फैसला सुनाउने विश्वास व्यक्त गर्नुभयो ।
कांग्रेसका अर्का केन्द्रीय सदस्य अमृत अर्यालले संविधानका वैधानिक संरचना संरक्षण गर्न सरकार चुकेको छ भन्दै कांग्रेस आफ्नै बलमा सङ्घर्ष गर्न सक्षम रहेको बताउनुभयो । कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य पवन सारडा, कांग्रेस मोरङका सभापति डिकबहादुर लिम्बू र पार्टीका उपसभापति शिवनारायण गनगाई र बुद्धिजीवी इन्दिरा प्रसार्इंले सरकारले संविधानको भावनानुसार काम नगरेको आरोप लगाउनुभयो ।
सीमा रक्षाका बारे कांग्रेस स्पष्ट : डा डिला सङ्ग्रौला
यसैबीच दार्चलाबाट प्राप्त समाचार अनुसार कांग्रेस केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले नयाँ नक्शाअनुसारको भूमि नेपालमा ल्याउन सरकारलाई आह्वान गर्नुभयो । दार्चुलामा आज आयोजित विरोधसभा नेतृ संग्रौलाले नेपालको भूमी लिपुलेक, लिम्पियाधुरा र कालापानी नक्सामा ल्याएर सस्तो लोकप्रियता कमाउनुभन्दा भूमी फिर्ता ल्याएर सीमाका नागरिकलाई गर्व महसुुस दिलाउन सरकारसँग आग्रह गर्नुभयो । उहाँले भन्नभयो, “देशका भू–भाग र सीमा रक्षाका बारे कांग्रेस स्पष्ट, छ र सरकार पनि स्पष्ट हुनुपर्छ ।”
भागरथीको लागि न्याय : रमेश लेखक
बैतडीबाट प्राप्त समाचार अनुसार कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकले सिङ्गो नेपाली कांग्रेस भागरथी भट्टको न्यायको पक्षमा रहेको बताउनुभएको छ । आज सदरमुकामस्थित गोठलापानीमा कांग्रेसले आयोजना गरेको विरोधसभामा उहाँले भागरथीको न्यायका लागि कांग्रेस लागिपरेको बताउनुभयो । प्रहरी अनुसन्धान प्रभावित हुने भन्दै केही दिन आन्दोलन नगर्न प्रहरीले गरेको आग्रहअनुसार आफूहरुले अहिले आन्दोलन नगरेको बताउनुभयो । केही दिनभित्रै भागरथीको हत्यारा पत्ता नलागे कांग्रेस जस्तोसुकै आन्दोलन गर्न तयार छ उहाँले भन्नुभयो, “यसअघि गृह मन्त्रीलाई घटनाको विषयमा ध्यानाकर्षण गराइसकेका छौँ, उहाँले छिट्टै दोषी पत्ता लाग्ने बताउनुभएको छ ।”
कांग्रेसको एजेण्डा संविधान जोगाउने : गगनकुमार थापा

चितवनबाट प्राप्त समाचार अनुसारनेपाली कांग्रेसका नेता गगनकुमार थापाले अहिलेको प्रश्न निर्वाचन र संसद् पुनःस्थापनाको नभएको बताउनुभएको छ । नेपाली कांग्रेस चितवनले आज यहाँ आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै नेता थापाले कांग्रेसको एजेण्डा संविधान जोगाउने रहेको बताउनुभयो ।
संविधान कांग्रेसको मात्र विधान नभएर सिङ्गो देश एक भएर लेखिएको दस्तावेज भएको बताउँदै भन्नुभयो, “संविधानमा कांग्रेसको असहमति भए पनि यो साझा दस्तावेज बनेको छ ।” नेता थापाले इतिहासमा भएका कमी कमजोरीलाई सच्चिने गरी अहिलेको संविधान निर्माण गरिएको बताउनुभयो । सभामा केन्द्रीय सदस्य सरिता प्रसाईंले देश अप्ठ्यारोमा पर्दा कांग्रेसले नै निकास दिएको बताउनुभयो । कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले कांग्रेस एक्लैले चितवनका सबै क्षेत्रमा चुनाव जित्ने दाबी गर्नुभयो ।
परिवर्तनमा कांग्रेसको जोड : मोहनबहादुर बस्नेत
कैलाली–कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले कांग्रेसको नेतृत्व बिना कुनै पनि परिवर्तन आजसम्म सम्भव नभएको बताउनुभएको छ ।
नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वमन्त्री बस्नेतले कांग्रेसको उपस्थिति र नेतृत्व विना परिवर्तन सम्भव नभएकाले अहिलेको परिस्थितिलाई गम्भीरताका साथ हेर्नुपर्ने जिम्मेवारी कांग्रेसको काँधमा आएको बताउनुभयो ।


















