पोखरा(कास्की), ६ फागुन । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवा उपस्थित कार्यक्रममै प्रतिनिधिसभा विघटनका विरुद्धमा स्पष्ट अडान लिन नसकेको आरोप लगाउदै नेतृत्वको कारण पार्टीमाथि गम्भीर प्रश्न खडा हुन थालेको बताउनुभएको छ ।
बिहिबार नेपाल राष्ट्रिय मगर संघको गण्डकी प्रदेशको प्रथम सम्मेलनको उद्घाटन कार्यक्रमलाई संबोधन गर्ने क्रममा वरिष्ठ नेता पौडेलले प्रतिनिधिसभा विघटनको घटनामा यसको गम्भीरतामा ध्यान नदिइ सभापति देउवा अदालतलाई देखाएर उम्किने गरेकोमा प्रश्न उठाउदै भन्नुभयो, “उत्कृष्ट, समावेशी, सन्तुलित संविधानलाई केपी ओलीले प्रहार र हमला गरेको अवस्थामा कांग्रेसले अदालतलाई देखाएर पन्छिन मिल्दैन ।”
बरिष्ठ नेता पौडेलले लोकतन्त्रको भविष्यमा काला बादल मडारिएको बेलामा अदालतलाई पनि खबरदारी गर्न सक्नुपर्ने भन्दै देशलाई बचाउन संसद पुनःस्थापना गरोस् भनेर अनुरोध, वकालत, जिकिर, बहस गर्न सकिने बताउनुभयो ।

उहाँले अदालतलाई छुनै नहुने गरी नराखिका बताउदै उहाँले भन्नुभयो, ‘अदालतले संसद् पुन:स्थापना गर्ने विश्वास छ । संसद् पुन: स्थापना हुन्छ, हुनैपर्छ । नभए मुलुक बर्बादी हुन्छ । गृहयुद्धको अवस्था आउन सक्छ । अफगानिस्तान बन्न सक्छ । त्यसबाट बचाउने जिम्मेवारी सर्वोच्चको काँधमा आएको । न्यायमूर्तिको हातमा आएको छ ।’
नेपाली कांग्रेस नै नेपालमा लोकतान्त्रिक शासन व्यवस्थाको सूत्राधार, संरक्षक र पहरेदार भएकोले यो व्यवस्था र हाम्रो नेतृत्वमा संविधानसभाले बनाएको संविधानको रक्षाको लागि अग्रसर भएर नेपाली जनताको आशा र भरोसाको केन्द्र हुनुपर्नेमा कांग्रेस नेतृत्वले अदालतले के गर्छ ? कसले के गर्छ ? भनेर बसेको आरोप लगाउनुभयो ।
उहाँले सभापति देउवासंग प्रश्न गर्दै भन्नुभयो, ‘कसले के गर्छ भनेर हेर्ने हो कि लोकतन्त्र रक्षाका लागि आफैं अघि सर्ने र बढ्ने हो ? प्रधानमन्त्री ओलीको कदमले लोकतन्त्रमाथिको प्रहार भएको छ । निरंकुश र तानाशाही शासनलाई बल पुगेको छ । यसको विरोध गर्नु कांग्रेसको कर्तव्य हो ।’
२० ६२। ६३ को जनआन्दोलनमा पार्टीका सबै तहतप्काका कार्यकता र मतदाताहरु समेत सहभागी भएर ल्याएको व्यवस्था र संविधानलाई प्रधानमन्त्रीले प्रहार गरेकोले देशभरका कांग्रेस कार्यकर्ता विरोधमा उत्रिएको बताउदै वरिष्ठ नेता पौडेलले प्रश्न गर्नुभयोे,” तर कांग्रेस पार्टीका नेताले जनतालाई कन्फ्युजनमा पारेर हिँड्ने, र जे मन लायो त्यही बोलेर हिँड्ने ?”
उहाँले कांग्रेस केन्द्रीय समितिले ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक भनेर निर्णय गरिसकेको अवस्थामा संविधानको अक्षर र भावना अनुसार सर्वोच्चले फैसला दिनुपर्छ भनेर पार्टीले भन्न सक्नुपर्ने बताउनुभयो ।
उहाँले पार्टी सभापतिले गत फागुन ३ गते भैरहवाको विरोध सभामा प्रधानमन्त्री ओलीभन्दा एक कदम अगाडि सरेर निर्वाचन आयोगलाई चुनावको तयारी नगरेकोमा आक्रोश पौख्नुभएका सभापति देउवाको अभिव्यक्ति प्रति असन्तुष्टि पोख्दै भन्नुभयो ‘ हामीले बनाएको संविधान अनुसारको फैसला हुनुपर्छ भनेर कांग्रेसले किन नभन्ने । चुनाव चुनाव भन्ने ? ‘चुनाव पंचायतमा पनि भएको थियो । जहिले पनि होला, हुन्छ । तर संविधान र लोकतन्त्र बचेमात्र चुनावको अर्थ हुन्छ ।’
५ वर्षसम्म दिएको सरकार चलाउने अधिकारलाई ३ वर्षमै संसद् फालेर सरकार र कम्युनिष्ट भाग्ने ? पार्टीमा झगडा पर्यो भनेर संसदमाथि प्रहार गर्ने अनि यस्तो कुरालाई कांग्रेसले हेरेर बस्न सक्छ ? मुलाइजा गर्न सक्छ ? नेता पौडेलले आक्रोश पोख्नुभयो ।

अधिवेशनलाई सम्बोधन गर्दै पार्टी सभापति शेरबहादुर देउवाले सर्वोच्च अदातलको पैmसला पार्टीका लागि मान्य हुने बताउनुभएको थियो ।उहाँले अदातलले प्रतिनिधिसभा पुनःस्थापना वा निर्वाचनमा जाने जुनसुकै पैmसला गरे पनि पार्टीका लागि स्वीकार्य हुने बताउनुभएको थियो ।
कार्यक्रममा उहाँले ठट्यौलीमा भन्नुभयो, कम्युनिष्ट पार्टीका दुवैथरिले पैसा खर्च गरेर मान्छे बटुलेर आमसभा गरेका छन् । हामीसंग पैसा छैन । पैसा खर्च गरेर मान्छे बटुलेर शक्ति प्रदर्शन गर्ने अवस्थामा हामी छैनौ ।
उहाँले पार्टीका गतिविधिमा सक्रिय सहभागिता जनाउन कार्यकर्तालाई निर्देशन दिँदै सभापति देउवाले लामो सङ्घर्षबाट नेपाली जनताले प्राप्त गरेको अधिकारको रक्षाका लागि पार्टी एकताबद्ध भएर लाग्नुको विकल्प नभएको बताउनुभयो ।
कार्यक्रमलाई संबोधन गर्दै नेपाली कांग्रेसका संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठले निर्वाचन भएमा काँग्रेसले स्पष्ट बहुमत प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल राष्ट्रिय मगर सङ्घका केन्द्रीय अध्यक्ष ओम थापामगरले मुलुकको परिर्वतका लागि भएका प्रत्येक आन्दोलनमा मगर समुदायले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै पार्टीले योग्यता र क्षमताका आधारमा अवसर दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा संविधानसभा सदस्य विन्दा रानामगर, म्याग्दीका पार्टी सभापति नीरज पुन, गण्डकी प्रदेशसभा सदस्य मणिभद्र शर्मा कँडेल, जीतप्रकाश आले, खम्वीर गर्बुजा मगर, दिपेन्द्र थापामगर, खडकबहादुर मगर, पदम पुन मगर, चन्द्रबहादुर रानामगरलगायतले पार्टी सङ्गठनका लागि मगर सङ्घले पु¥याउँदै आएको योगदानका बारेमा चर्चा गर्नुभएको थियो ।
सम्मेलनमा सन्तजंग पुन मगरको सभापतित्वमा गठन गरिएको २५ सदस्यीय राष्ट्रिय मगर विद्यार्थी सङ्घ प्रदेश समितिको घोषणा गरिएको थियो ।








