Prakash Adhikari February 20, 2021

 

काठमाडौं, ८ फागुन । विश्वको दोस्रो अग्लो हिमाल माउन्ट के टू’ मा कीर्तिमान कायम गर्ने नेपाली आरोहीहरुलाई नेपाल उद्योग परिसंघले सम्मान गरको छ ।

बिहीबार राजधानीमा आयोजित औपचारिक कार्यक्रममा परिसंघका अध्यक्ष सतिशकुमार मोरसहितको परिसंघको कार्य समितिले के टू आरोही निर्मल पूर्जा र आरोहण दलका सदस्यहरुलाई सम्मान गरेको हो ।

सोअवसरमा समारोहलाई सम्बोधन गर्दैं अध्यक्ष मोरले हिमाल आरोहणमा संसारभर प्रख्यात नेपाली आरोहीहरुले छिमेकी मुलुक पाकिस्तानमा रहेका ‘माउण्ट के टू ‘मा शिशिर ऋतुमा आरोहण गरी पहिलो बन्ने कीर्तिमान कायम गरी नेपाल र नेपालीको प्रतिष्ठा उच्चो बनाएकोमा परिसंघ गौरवान्ति भएको बताउनुभयो ।

गत जनवरी १६, २०२१ का दिन नेपाली आरोहण दलले पाकिस्तानमा अवस्थित विश्वको दोस्रो अग्लो चुचुरो “के टू” को सफल आरोहण गरी हिउँदेयाममा सो हिमाल आरोहण गर्ने पहिलो टिम बन्ने कीर्तिमान कायम गरेको थियो ।

अध्यक्ष मोरले नेपालको पर्यटन प्रवद्र्धनको सम्वाहकका रुपमा नेपालका पर्वतारोहीहरु रहेको बताउदै पर्वतारोहीहरुका गतिविधिले नै नेपालको प्राकृतिक सौन्दर्यता र ऐतिहासिक महत्व विशेषका विश्वसामु परिचित गराउन सघाएको बताउनुभयो ।

उहाँले हिमालयको संरक्षण, पर्यटन प्रवद्र्धन र विशेषतः दूर्गम क्षेत्रको आर्थिक सामाजिक विकास गर्न पर्वतारोहीले अतुलनीय योगदान पुर्याएको पनि बताउनुभयो ।

कार्यक्रममा परिसंघका वरिष्ट उपाध्यक्ष विष्णुकुमार अग्रवालले नेपालको नाम विश्वभर स्थापित गराएकोमा आरोहण टोलीलाई बधाई दिंदै भन्नुभयो, “आत्मविश्वास, लगाव र कठोर मेहनतले प्राप्त गरको सफलताले नेपालको पर्वतारोहण पर्यटनलाई मद्दत पुग्ने छ ।”

उहाँले के टू आरोहण टोलीले असम्भवलाई पनि सम्भव बताउन सकिने सन्देश दिएको बताउदै पर्वतारोहीहरुलाई नेपालमा उत्पादित सामान र सेवाको विश्वभर प्रचार गराउन बाण्ड एम्बासेडर बनाउन पर्ने बताउनुभयो ।

कार्यक्रमलाई संबोधन गर्दै परिसंघको पर्यटन समितिका संयोजक पम्फा धमलाले नेपाली आरोहीले विश्वको दोश्रो हिमाल केटुको सफल आरोहण गरेर नेपालीहरुको अदम्य साहसको परिचय दिएको बताउनुभयो ।

नेपाली पर्वतारोहीको टोलीले माघमा (जनवरी १६मा) साँझ ५ बजे विश्वको दोस्रो अग्लो हिमाल माउण्ट के टू े(८,६११ मिटर) को आरोहण गरेको थियो । टोलीमा १० जना नेपाली आरोहीहरु रहेका थिए ।

सम्मान समारोहमा परिसंघका उपाध्यक्षहरु क्रमश अनुज अग्रवाल, राजेशकुमार अग्रवाल, सुलभ अग्रवाल र वीरेन्द्रराज पाण्डेको उपस्थिति थियो ।

Share Now

Leave a comment.