काठमाडौं, १२ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा पशुपतिनाथमा सुनको जलहरी अनावरणको पूजा गर्ने कार्यसँगै जलहरी स्थापित गर्ने कार्य सम्पन्न भएको पशुपति विकास कोषले जनाएको छ।

कोषका सदस्यसचिव डा. प्रदीप ढकालका अनुसार पाँच दिनयता नेपाल र भारतका १२१ जना ब्राह्मणले पशुपतिनाथ मन्दिरमा वैदिक र शास्त्रीय विधिपूर्वक भएको क्षमापूजा तथा विभिन्न मुहूर्तमा भएका सङ्कल्प पूजाहरू पनि राष्ट्रपतिले विसर्जन गर्नुभएको छ।
विवाद यथावत

सुनको जलहरी राख्ने निर्णयविरूद्ध सर्वोच्च अदालतमा दुईवटा छुट्टाछुट्टै रिट निवेदन दर्ता भएको भोलिपल्टै सुनको जलहरी स्थापना भएको हो।
कोषका सदस्यसचिव डा. प्रदिप ढकालका अनुसार मङ्गलवार उपयुक्त साइत भएकोले जलहरी स्थापना गर्यौँ र आज राष्ट्रपतिको उपस्थितिमा विशेष पूजाका साथ जलहरी स्थापना कार्य पूरा हुनेछ।
तर उक्त कदमलाई संस्कृतिविद् तथा कोषका पूर्वकोषाध्यक्ष नरोत्तम वैद्यले असंवैधानिक र दुर्भाग्यपूर्ण भनेर टिप्पणी गर्नुभएको छ।
चाँदीको जलहरीलाई सुनको जलहरीले प्रतिस्थापन गर्ने कार्य संविधान, कानुनको मर्म र भावनाविपरीत भएको भन्दै वैद्य र अधिवक्ता निकिता ढुङ्गानाले रिट निवेदन दायर गर्नुभएको र आज त्यसको पहिलो पेशी रहेको छ।
उक्त निवेदनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पशुपति क्षेत्र विकास कोष तथा कोषको सञ्चालक परिषद्, गुठी संस्थान लगायतलाई विपक्षी बनाइएको छ।
विवादको कारण
रिट निवेदक वैद्यका अनुसार सुनको जलहरी हाल्ने कार्य प्राचीन स्मारक संरक्षण ऐन २०१३ विपरीत छ।
तर प्राचीन स्मारक संरक्षण ऐनका अनुसार ुस्मारकहरूको संरक्षण, मर्मत तथा जीर्णोद्धार पुरातत्व विभागको निरीक्षण, प्राविधिक सेवा तथा निर्देशनमा गुठी संस्थानले गर्नेछु भनिएको छ।
‘कुनै प्राचीन स्मारकलाई नष्ट गरेमा, भत्काएमा, हटाएमा, परिवर्तन गरेमा, विरूप पारेमा वा चोरी गरेमा पाँच वर्षदेखि पन्ध्र वर्षसम्म कैद सजाय हुनसक्ने’ उक्त ऐनमा भनिएको छ।
पुरातत्त्व विभागका महानिर्देशक दामोदर गौतमका अनुसार पशुपतिनाथमा हाल रहेको चाँदीको जलहरी राजा महेन्द्रको पालामा २०२५ सालमा स्थापना गरिएको हो ।
त्यसअघि राजा गीर्वाणयुद्धको पालामा तामाको जलहरी प्रतिस्थापित गरिएको अभिलेख रहेको उहाँले बताउनुभयो।

पशुपतिनाथ क्षेत्रमा रहेको एक तामाको जलहरी।
तामाको जलहरीको एक प्रतिकात्मक उदाहरणको रूपमा रहेको पशुपति क्षेत्रस्थित एक शिवलिङ्ग।
”चारपटकसम्म फेरियो’ जलहरी
महानिर्देशक गौतमले भन्नुभयो, ‘मुख्य शिवलिङ्गको जलहरीलाई चार पटकसम्म तामाको पाताले मोडिसकेको पाइएकोले अहिले जलहरीलाई जिर्णोद्धार गर्दा प्राचीन स्मारकलाई कुनै असर पर्ने देखिँदैन।’
उहाँले भन्नुभयो, ‘जिर्ण भएको अवस्थामा त्यहाँको अभिलेख वा पुरातात्विक वस्तुलाई असर नपर्ने हिसाबले सुनको पाता राख्दा कुनै असर पर्दैन।’
विगत सात वर्षयता जलहरी फेर्ने विषयमा विवाद हुँदै आएको सम्बन्धित विज्ञको भनाइ छ।
संस्कृतिविद् डा. गोविन्द टण्डनका भनाइमा चाँदीको सट्टा सुनको राख्दा शास्त्रीय वा पुरातात्विक हिसावले कुनै अप्ठेरो छैन।
उहाँले भन्नुभयो, ‘तर मठमन्दिरको शैली वा त्यहाँ प्रयोग भएका सामानहरूलाई पहिला जस्तो छ त्यस्तै बनाउनुपर्छ भन्ने कुरामा चाहिँ दुईमत छैन। धातु फेर्दैमा आत्तिनु पर्दैन।’
ज्योतिर्लिङ्ग चोइटिएको भन्ने आशंका के हो ?
जलहरी फेर्दा विगतमा ज्योतिर्लिङ्ग चोइटिएको भन्ने भनाइमा पनि कुनै सत्यता नभएको उहाँले बताउनुभयो।
उहाँले भन्नुभयो, ‘मेरो बुझाइमा जलहरी फेर्दा ज्योतिर्लिङ्ग चोइटिएको हैन। बरु ०६८ सालभन्दा अगाडिसम्म भक्तजनले बाहिरबाट सिक्का फाल्ने चलन थियो। त्यसैका कारणले चोइटिएको हुनसक्छ।’
बाहिरै बनाएर भित्र लगेर जडान गरिने भएकोले पनि जलहरी जतिसुकै गह्रौँ भएपनि मुख्य स्मारकमा कुनै समस्या नहुने उहाँको तर्क छ।
कुनै पनि नयाँ धातुको पाता राख्दा हुन सक्ने असर र विद्यमान प्रचलनबारेमा भट्टहरूसँग सोध्दा कुनै असर नपर्ने बताएको पुरातत्त्व विभागका महानिर्देशक गौतमले बताउनुभयो।
गौतमले भन्नुभयो, ‘जलहरीमा रहेका पुराना पाताहरू त्यहीँ भित्र नै रहने र भुइँमा बसेको जलहरीमा पछि थपिने पाताले कुनै असर नगर्ने हुनाले ज्योतिर्लिङ्गमा कुनै असर हुँदैन।’
कोषका सदस्यसचिव ढकालले पनि ‘विगतमा ज्योतिर्लिङ्ग चोइटिएको’ भन्ने कुरा भ्रामक र मिथ्या भएको भन्दै जमिनको सतहबाट नै जलहरी राखिने हुँदा अन्य कुनैपनि संरचनालाई भार नपर्ने बताउनुभयो।
तर कोषका पूर्व कोषाध्यक्ष समेत रहेका रिट निवेदक वैद्य भने यस्तो तर्कबाट सन्तुष्ट छैनन्।
न्याय पाउने आश

सर्वोच्चमा दायर रिट निवेदन।
वैद्य भन्नुहुन्छ, ‘कसैको लहड वा इच्छाले प्राचिन स्मारकका आभूषणको अक्षुण्णता र अनवरततामा आँच पुर्याउने कार्य कदापि मान्य र स्वीकार्य हुन सक्दैन।’
न्यायका लागि धेरैतिर धाएपछि आफूहरू अदालत पुग्न बाध्य भएको बताउँदै उनले भने, ुअब मुद्दा किनारा नलागेसम्म जलहरी निर्माण कार्य निषेध गर्न अन्तरिम आदेशको माग गरेका छौँ। न्याय पाउनेमा आशावादी छौँ।ु
कोषले भने हालसम्म उक्त रिट बारे आफूहरूलाई औपचारिक जानकारी नपाए पनि अदालतबाट हुने निर्णयबाट आफूहरू अघि बढ्न प्रतिबद्ध रहेको बताएको छ।
कोषका सदस्यसचिव ढकालले सुनको जलहरी निर्माण धार्मिक, सामाजिक, साँस्कृतिक मूल्यमान्यताअनुसार नै गरिएको र सम्बन्धित सबै पक्षसँगको परामर्शपछि गरिएको बताउनुभयो।
के हो जलहरी ?
जलहरी भनेको शिवलिङ्ग अडिने आधार हो जसबाट दूध, मह तथा पानी लगायतका चढाइएका वस्तुहरू बगेर जान्छन्।
सोही तरल वस्तु जलहरी हुँदै वाग्मती किनारको ब्रह्मनालसम्म पुग्छ र भक्तालुहरूलाई अभिषेक गरिने जल पनि सोही जलहरीमा सञ्चित हुने बताइएको छ।
हाल चाँदीबाट बनेको उक्त जलहरी जीर्ण बन्दै गएकोले झन्डै दुई वर्षको गृहकार्यपश्चात् सुनको जलहरी निर्माण गर्ने निर्णयमा पुगेको कोषको भनाइ छ।
सदस्यसचिव ढकालका अनुसार सुन पवित्र तथा सर्वोत्कृष्ट धातु मानिने भएकोले सुनकै जलहरी बनाउने निर्णय भएको हो।

जलहरीको नापनक्सा
नयाँ विवाद
नयाँ जलहरी राख्नका लागि गत फागुन ८ गतेबाट भइरहेको क्षमापूजा आज सकिँदै छ।
उक्त पूजाका लागि भारतको कर्नाटकबाट २५ जना सहित १२१ जना ब्राम्हण पुजारीले विहान बेलुका संयुक्त रूपमा विशेष विधिविधान अनुसार निरन्तर पूजामा सहभागी रहेको कोषको भनाइ छ।
तर क्षमापूजाका लागि भारतबाट ब्राम्हण मगाउनुले थप प्रश्न उब्जाएको बताउँदै पशुपतिनाथ सम्बन्धी जानकार मानिने संस्कृतिविद् टण्डनले असन्तुष्टि व्यक्त गर्नुभएको छ।
‘भारतबाट ब्राम्हण मगाइनुले नेपालमा क्षमापुजा गर्ने परम्परा नभएको र क्षमापूजा गर्न सक्ने ब्राम्हण नभएको जस्तो स्थिति देखापरेको छ। विगतमा कर्नाटकबाट पुजारी ल्याएको मलाई थाहा छैन।’, उहाँले भन्नुभयो ।
सुनको जलहरी निर्माण र जलप लगाउन झन्डै एक अर्ब रुपैयाँ लाग्ने अनुमान रहेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीले गत माघ १२ गते पशुपतिनाथको दर्शनका बेला ३० करोड रुपैयाँ कोषलाई दिने घोषणा गर्नुभएको थियो।
त्यस लगत्तै राष्ट्र ब्याङ्कबाट सुन किनेर पशुपतिनाथ मन्दिर परिसरको रुद्रागारेश्वरमा नेपाली सेनाको सुरक्षाबीच कालिगढहरू जलहरी निर्माणमा जुटेका थिए।
कालिगढले मन्दिर बाहिरै तयार गरेको जलहरीलाई तालिमप्राप्त भट्टहरूले मङ्गलबार नयाँ जलहरी जडान गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।


















