Prakash Adhikari February 24, 2021

काठमाडौं, १२ फागुन । प्रधानमन्त्री केपी ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठक विभिन्न चारवटा निर्णय गर्दै केहीबेरअघि सकिएको छ।

सो समूहका प्रवक्ता प्रदीपकुमार ज्ञवालीका अनुसार बैठकले सर्वोच्च अदालतले मङ्गलवार गरेको फैसला कार्यान्वयन गर्ने निर्णय गरेको छ।

बुधवारको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै नेता ज्ञवालीले भने, ‘अहिलेको हकमा सर्वोच्च अदालतको फैसलालाई सम्मान र कार्यान्वयन गर्ने हामीले निर्णय गरेका छौँ।’

सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय ‘असंवैधानिक’ ठहर गर्दै पुनर्स्थापित गरिदिएको थियो।

फैसला सुनाइएको १३ दिनभित्र संसद्‌को अधिवेशन बोलाउन पनि आदेश दिएको छ।

ओली समूहका नेताहरूले सर्वोच्च अदालतको आदेशलाई ‘अनपेक्षित’ बताउँदै आएका छन्।

सर्वपक्षीय छलफल
आफूहरूले अदालतको फैसलालाई कार्यान्वयन गर्ने निर्णय गरे पनि मुख्य चासो मुलुकमा हुनसक्ने ‘अस्थिरता’बारे रहेको ज्ञवालीले टिप्पणी गर्नुभयो।

उहाँका अनुसार बैठकले समग्र परिस्थितिबारे छलफल गर्न केन्द्रीय कमिटी र संसदीय दलको बैठक बोलाउने निर्णय पनि गरेको छ।

प्रतिनिधिसभाको अधिवेशन निर्धारित समयमै बोलाइने बताउँदै नेता ज्ञवालीले त्यसपछिको दृश्य कस्तो हुन्छ भन्नेबारे सबै पक्षसँग छलफल गर्ने निर्णय समेत बुधवारको बैठकले गरेको छ।

त्यस्तै स्थायी कमिटी बैठकले देशका विभिन्न ठाउँमा यसअघि निर्धारित कार्यक्रमहरूलाई निरन्तरता दिने निर्णय गरेको छ।

 

Share Now

Leave a comment.