Prakash Adhikari March 2, 2021

अबुजा(नाइजेरिया), १९ फागुन(बीबीसी) । नाइजिरियामा गत हप्ता एक विद्यालयबाट अपहरण गरिएका २ सय ७९ बालिकाहरू मुक्त गरिएका एक स्थानीय अधिकारीले बताएका छन्।

प्रहरीका अनुसार अज्ञान बन्दुकधारीहरूले ती बालिकाहरूलाई जाम्फारास्थित एउटा आवासीय विद्यालयबाट गत शुक्रवार अपहरण गरी नजिकैको जङ्गलमा लगेका थिए।

सो राज्यका गभर्नरले ती बालिकाहरू मङ्गलवार मुक्त भएको र सुरक्षित रहेको बताउनुभएको छ।

यस्ता अपहरणहरू फिरौतीका लागि गरिने र उत्तरी नाइजिरियामा बारम्बार हुने घटना भएको बताइएको छ।

अपहरितमध्येका दर्जनौँ बालिकाहरू सरकारी भवनमा मिनिबसहरूमा ल्याइएका थिए।

“अपहरित विद्यार्थीहरू मुक्त भएको घोषणा गर्दा म गद्गद् भएको छु,” गभर्नर बेलो मातावालेले ट्विटरमा लेख्नुभएको छ।

 

अधिकारीहरुले २ सय ७९ बालिकाहरूलाई मुक्त गरिएको बताएका छन्। प्रहरीले गत साता ३ सय १७ जनाको अपहरण भएको भने पनि त्यो सही नभएको सरकारी अधिकारीको भनाइ छ।

अपहरित एक बालिकाले बीबीसीलाई भनिन्, “हामीमध्ये धेरैलाई घाउ चोट लागेको थियो र हिँड्न गार्‍हो भएको थियो तर उनीहरूले नहिँडे गोली हान्ने बताएका थिए।”

“हामी खोला तरेर गयौँ र उनीहरूले हामीलाई लुकाए अनि बुट्यानमुनि सुत्न दिए।”

ती बालिकाहरू मुक्त गर्न सरकारी अधिकारी र अपहरणकारीबीच वार्ता भएको थियो। मातावालेले ती बालिकाका लागि फिरौती नतिरिएको दाबी गर्नुभयो।

 

Share Now

Leave a comment.