काठमाडौं, १९ फागुन। महाशिवरात्री तथा सेना दिवसको पूर्वसन्ध्यामा नेपाली सेनाले फागुन १९ गतेदेखि २१ गतेसम्म पृतनापति सम्मेलन आयोजना गर्ने भएको छ ।
नेपाली सेनाले मंगलबार एक विज्ञप्ति जारी गर्दै फागुन २७ गते हुन गइरहेको महाशिवरात्री तथा सेना दिवसको पूर्वसन्ध्यामा जंगी अड्डामा तीन दिवसीय पृतनापति समन्वयात्मक बैठक सञ्चालन गर्न लागेको जानकारी दिएको हो ।
तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा पृतनापतिहरुबाट आ(आफ्नो जिम्मेवारी क्षेत्रमा सुरक्षाको वर्तमान वस्तुस्थितिबारे प्रतिवेदन प्रस्तुत गर्नेछन् । साथै जंगी अड्डाका महानिर्देशनालय र विभागीय प्रमुखहरुबाट आन्तरिक सुदृढिकरणको क्षेत्रमा भए ।गरेका कार्यहरुका बारेमा प्रस्तुतीकरण एवं छलफल हुने सेनाले जनाएको छ ।
प्रधानमन्त्री के.पी.शर्मा ओलीले केही दिन पूर्व आफ्नो व्यक्तिगत सुरक्षामा खतरा आएको सार्वजनिक अभिव्यक्ति दिएको र देशको राजनीति तरल अवस्थामा रहेको बेलामा हुन लागेको सेनाका पृतनापतिहरुको सम्मेलनमा देशको अखण्डता,जनताबीचको एकता,सुरक्षाका आन्तरिक र बाह्य चुनौती, जनशक्ति र सैन्य सामग्रीको अवस्था, विकास निर्माणमा नेपाली सेनाको संलग्नता र त्यसले सिर्जना गरेको अवसर तथा चुनौति , राष्ट्र संघ र मित्र राष्ट्रहरुसंगको सुरक्षासम्बन्धका बारेमा पनि छलफल हुने बताइएको छ ।



















