Prakash Adhikari March 5, 2021

 

काठमाडौं, २१ फागुन । आज प्रधानमन्त्री के.पी. शर्मा ओली र यो व्यवस्था समाप्त गरी जनवादी राज्यसत्ता कायम गर्न सशस्त्र विद्रोहमा होमिएको नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष नेत्रविक्रम चन्दले एकै मञ्चबाट संबोधन गर्ने हुनुभएको छ ।

नेपाल सरकार र विप्लव समूहका बीचमा ३ बुँदे राजनीतिक सहमति जुटेपछि आज दिउँसो २ बजे विस्तृत संझौतामा हस्ताक्षर हुने कार्यक्रम छ ।

राष्ट्रिय सभागृहमा हुने सो कार्यक्रमलाई प्रधानमन्त्री ओली र विद्रोही नेता विप्लवले संबोधन गर्ने कार्यक्रम  छ ।

यो कुरा दुवै तर्फका वार्ताकारहरुले बिहिबार नै सार्वजनिक गरिएको प्रेस नोटमा उल्लेख गरिएको छ ।

कार्यक्रममा उपस्थित हुन नेता विप्लव नवलपरासीबाट गाडीमा राजधानी आउदै हुनुहुन्छ । उहाँ शहिद परिवारसंग भेटघाट गरी राजधानी आउन लागेका जानकारी जनपत्रकार संगठनका प्रकाश डुम्रेले जानकारी दिनुभएको छ । उहाँले आज बिहान नवलपुरकी फूलमाया सारू ‘रमा’का परिवारलाई भेटनुभएको थियो ।

सरकार र विद्रोही समूहबीचका वार्ताकारहरुले दुई दिनमा सहमती कायम गरेका थिए । बुधबार भएका दुई चरणका बार्ता र बिहिबार भएको एक चरणको बार्तापछि सरकारले विप्लवसमूहमाथि लागेको प्रतिबन्ध हटाउने र मुद्दामा मामिला फिर्ता लिने तथा विप्लव समूहले हतियार त्यागेर शान्तिपूर्ण राजनीतिको मार्गमा आउने सहमति बनेको थियो ।

सरकारले विप्लव समूहलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउन लागेको कुरा प्रधानमन्त्री के.पी. शर्मा ओलीले उहाँको गृहजिल्ला झापामा आयोजित एक कार्यक्रममा संबोधन गर्ने क्रममा बताउनुभएको थियो ।

त्यस लगत्तै सरकारले विप्लव नेतृत्वको सशस्त्र समूहसंग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजनभट्टराई सदस्य रहेको दुई सदस्सीय वटा टोली गठन गरेको थियो ।

सरकारले वार्ता टोली गठन गरे लगत्तै प्रतिबन्धित विप्लव समूहले पनि खड्गबहादुर विश्वकर्माको संयोजकत्वमा उदय चलाउने (दीपक) रहेको दुई सदस्यीय वार्ता टोली गठन गरेको थियो ।

सरकारले विप्लव समूहलाई २०७५ फागुन २८ को मन्त्रिपरिषद् निर्णयले प्रतिबन्ध लगाएको थियो ।

बिहिबार बिहान सरकार र विप्लव समूहका वार्ताकारबीच ३ बूँदे सहमति भएपछि साँझ बसेको मन्त्रिपरिषद्ले नेत्रविक्रम चन्द नेतृत्वको नेकपामाथि लगाएको प्रतिबन्ध हटाउने निर्णय गरिसकेको छ भने सो समूहका नेता तथा कार्यकर्ताहरुमाथि लगाइएको मुद्दा सहमतिपत्रमा हस्ताक्षर भएपछि प्रक्रिया पुर्याएर फिर्ता लिने नीति लिएको छ । जेलमा रहेका कार्यकर्ताहरुको पनि सूची तयार पारिएको बताइएको छ । तिनीहरुलाई पनि विस्तृत संझौतामा हस्ताक्षर भएपछि क्रमश छोडिने बताइएको छ ।

प्रमुख जिल्ला अधिकारीको आदेशमा म्याद थप गरिएका विप्लव समूहका १८ जना कार्यकर्ता प्रहरीको हिरासतमा छन् । सो समूहको तेस्रो वरियताका नेता धर्मेन्द्र बास्तोला ‘कञ्चन’ जिल्ला प्रहरी कार्यालय काभ्रेको हिरासतमा छन् ।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनपछि सत्तामा आएका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको तराईलाई अलग्गै राष्ट्रको मान्यता दिलाउनु पर्दछ भन्दै सेनासमेत गठन गरेर तराईमा लुकीछिपी हतियार प्रयोग गरी व्यक्ति हिंसा गर्दै आएको सिके राउत नेतृत्वको सशस्त्र समूहलाई राजनीतिको मूलधारमा ल्याइसकेको छ भने अब विप्लव समूहलाई पनि शान्तिको मार्गमा ल्याउने सफलता पाएको छ ।

 

 

Share Now

Leave a comment.