माण्डले(म्यानमार), २१ फागुन(बीबीसी) । म्यान्मारमा सैनिक कूविरुद्ध भइरहेको प्रदर्शनका क्रममा गोली लागेर मारिएकी १९ वर्षिया किशोरीको अन्त्येष्टिमा बिहीवार मान्डलेमा ठूलो भिड जम्मा भएको थियो।
एञ्जेल भनेर चिनिने क्याल सीन गोली लागेर ढल्दा उनको टिसर्टमा लेखिएको थियो, “सबै कुरा ठिक हुनेछ।”
सामाजिक सञ्जालहरूमा उनलाई व्यापक रूपमा श्रद्धाञ्जली दिइएको छ। कैयौँले उनलाई ‘हिरो’ भनेका छन्।
गत माघ १९ गते सेनाले सैनिक कू गरेयता म्यान्मारमा सैनिक शासनको अन्त्य र बन्दी नेताहरूको रिहाइको माग गर्दै ठूला प्रदर्शनहरू भइरहेका छन्।

अहिलेसम्म ५४ जनाभन्दा धेरै प्रदर्शनकारीहरू मारिएको राष्ट्रसङ्घको मानव अधिकार कार्यालयले जनाएको छ।
बुधवार मात्रै त्यहाँ विभिन्न स्थानमा ३८ जना प्रदर्शनकारी मारिएका थिए।
मृतकको सन्देश भाइरल
राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्त मिचेल ब्याचलेटले सुरक्षा फौजलाई ‘शान्तिपूर्ण प्रदर्शनकारीहरूविरुद्ध क्रूर कारबाही रोक्न’ आग्रह गरेकी छन्।
अहिलेसम्म दर्जनौँ देशहरूले म्यान्मारको हिंसाको निन्दा गरेका छन् तर कूका नेताहरूले त्यसलाई बेवास्ता गरिरहेका छन्।
बिहीवार एन्जलको अन्त्येष्टि प्रक्रियामा सहभागी हुन मानिसहरू लाइन लागेका थिए।

समाचारसंस्था रोयटर्सका अनुसार शोकमग्न मानिसहरूले क्रान्तिका गीत गाउनुका साथै कूविरुद्ध नारा लगाएका थिए।
ज्यान गुमाउँदा किशोरीले लगाएको ‘एभ्रिथिङ्ग वील बी ओके’ अर्थात् ‘सबै कुरा ठिक हुनेछ’ लेखिएको टिसर्टको तस्बिर भाइरल भएको छ।
प्रदर्शनमा भाग लिनु खतरनाक भएको जानकार उनले फेसबुकमा आफ्नो मृत्युपश्चात् अङ्गदान गरिदिन आग्रह गरिएको सन्देश लेखेकी थिइन्।
म्याट थू बुधवारको प्रदर्शनमा उनीसँगै थिए।
उनका अनुसार एन्जलले प्रदर्शनकारीले अश्रुग्यासको पिरोपना पखाल्न सकून् भनेर पानीको पाइप खोल्न त्यसमा खुट्टाले हानिन्।
प्रसन्न केटी
म्याट थूले समाचारसंस्था रोयटर्सलाई बताए अनुसार प्रहरीले गोली चलाउन थालेपछि एन्जलले उनलाई सहयोग गर्ने प्रयास गरेकी थिइन्।
“उनले मलाई बस्, नत्र तिमीलाई गोली लाग्छ भनिन्,” त्यो क्षण सम्झिँदै उनले सुनाए, “उनले अरू प्रदर्शनकारीको ख्याल गरिन् र सुरक्षा गरिन्।”
उनका अनुसार एन्जलमाथि सुरुमा प्रहरीले अश्रुग्यास प्रहार गर्यो र त्यसपछि गोली हानेको थियो।
म्याट थूले गत चुनावमा पहिलो पटक भोट खसालेकी एन्जल एक ‘प्रसन्न केटी’ भएको बताए।

प्रदर्शन
“उनले परिवारलाई र परिवारले उनलाई निकै माया गर्थे,” उनले भने, “हामी युद्धमा छैनौँ। सर्वसाधारणमाथि गोली चलाउनुपर्ने कुनै कारण छैन।”
मानिसहरूले एन्जललाई सामाजिक सञ्जालमा पनि श्रद्धाञ्जली दिएका छन्।
एकजना साथीले फेसबुकमा लेखेका छन्: “मेरो मुटुले निकै दुखेको अनुभव गरेको छ।”
अर्काले लेखेका छन्: “चिरशान्तिको कामना साथी, हामी यो क्रान्तिमा अन्तिमसम्म लड्ने छौँ।”
उक्त घटनापछि पनि म्यान्मारमा प्रदर्शन रोकिएका छैनन्। याङ्गुन र मान्डले लगायत अन्य सहर र नगरहरूमा दशौँ हजार मानिसहरू सडकमा उत्रिएका थिए।
राष्ट्रसङ्घीय मानव अधिकार उच्चायुक्त ब्याचलेटले जारी गरेको वक्तव्यमा कूयता संसद् सदस्य र प्रदर्शनकारीहरू सहित १,७०० भन्दा धेरै मानिस गिरफ्तार गरिएको उल्लेख छ।
उनले व्यापक प्रदर्शन र घटनाक्रमको अनुगमनमा रहेको अप्ठेरोका कारण उक्त सङ्ख्या निकै धेरै पनि हुनसक्ने बताइन्।
म्यान्मारको सेनाले मृत्युबारे कुनै प्रतिक्रिया दिएको छैन।
Another fallen star, shot in the neck by the Junta. 💔 Her name was Ma Kyal Sin. Only 19.. Rest In Peace sister. You are forever our hero. 📍Mandalay. #Mar3Coup #CrimesAgainstHumanity #WhatsHappeningInMyanmar pic.twitter.com/Iz11wt8hHO
— Yun Waddy (@yunwaddylm) March 3, 2021


















