Prakash Adhikari March 6, 2021

 

काठमाडौं, २२ फागुन । शनिवार अपरान्ह बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको ओली समूहको संसदीय दलको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा बहुमत सांसद् उपस्थित भएको दावी राष्ट्रिय सभाका प्रमुख सचेतक रहेका सांसद खिमलाल भट्टराईले गर्नुभएको छ ।

उहाँले बैठकमा १ सय १५ जना सांसद उपस्थित भएको दावी गर्नुभएको । उहाँका अनुसार बैठकमा प्रतिनिधि सभाका ९१ जना र राष्ट्रिय सभाका २४ सांसद् उपस्थित भएका थिए ।

विभाजनको डिलमा पुगेर बसेको नेकपाकै प्रचण्ड नेपाल पक्षले हिजो शुक्रबार आयोजना गरेको संसदीय दलको बैठकमा १ सय ११ जना सांसद उपस्थित रहेको र ४ जना खाँटी आफ्ना सांसद कामविशेषले राजधानी बाहिर रहेको जानकारी दिइएको थियो ।

बैठकमा प्रधानमन्त्री ओलीले आफूविरुद्ध अविश्वासको प्रस्ताव आउने संभावना नरहेको र आफूले झुकेर सत्ता कसैलाई नसुम्पने बताउदै अडिग भएर बस्न अनुरोध गर्नुभएको थियो । उहाँले आफूले संसदमा विश्वासको मत नलिने तर अविश्वासको प्रस्ताव आएमा डटेर सामना गर्ने ढाडस सांसदहरुलाई दिनुभएको थियो ।
एकीकृत पार्टीको संसदीय दलको नेता भएकोले आफ्नै विरुद्ध अविश्वासको प्रस्ताव एकीकृत संसदीय दलका सदस्यबाट आएमा हस्ताक्षर गर्ने विरोधीहरुलाई छानी छानी कारबाही गर्ने र संसद चल्न नदिई वर्तमान प्रतिनिधिसभाको औचित्य समाप्त गर्ने दाउमा प्रधानमन्त्री र उहाँको समूह रहेको देखिन्छ ।

प्रधानमन्त्रीविरुद्ध पार्टीले कारबाही गरी उहाँलाई साधारण सदस्यबाट समेत हटाइएको जानकारी नेकपाकै प्रचण्ड तथा नेपाल समूहले संसद सचिवालयमार्फत सभामुखलाई दिई सकेको छ । यो सूचनालाई संसद सचिवालयमार्फत सभामुखले कसरी उपयोग गर्नुहुन्छ भोलिको प्रतिनिधिसभा र प्रतिनिधिसभाका सातौ अधिवेशनका बैठकहरु त्यस अनुरुप नै अगाडि बढ्ने देखिन्छ ।

 

Share Now

Leave a comment.