काठमाडौं, २२ फागुन। काठमाडौं उपत्यकामा देखिएको खानेपानीको अभावलाई मेलम्चीको पानी ल्याएर पूरा गरिदिने बाचा गर्नुभएको नेपाली कांग्रेसका तात्कालीन सभापति कृष्णप्रसाद भट्टराईको सपना ३० बर्षपछि पूरा भएको छ ।
२०४८ सालको निर्वाचनमा काठमाडौं क्षेत्र नं १ बाट प्रतिनिधिसभाको प्रत्यासी बन्नुभएका सन्तनेता भट्टराईले राजधानीमा देखिएको खानेपानीको समस्या समाधानको लागि मेलम्चीको पानी ल्याउने र मेलम्चीको पानी आएपछि सडक घुन पनि पुग्ने उद्घोष गर्नुभएको थियो ।
तर उहाँको सपनालाई तात्कालीन नेकपा एमालेले “तिर्खा मेट्ने पानी छैन,सडक धुने फूर्ति, के के सन्त तन्त्र मन्त्र जनता ढाट्ने जुक्ति” भनेर उछित्तो काढ्दै निर्वाचनमा भट्टराईलाई हराएका थिए ।
२०४७ सालमा अन्तरिम सरकारको नेतृत्व गरी स्वच्छ,निष्कलंक,सक्षम सरकार दिएर नयाँ संविधान ल्याई एकबर्षभित्र निर्वाचनसमेत सम्पन्न गराउनुभएका सन्त नेताले अवसर पाएको भए मेलम्चीका लागि ३० बर्ष कुर्नुपर्ने थिएन । भ्रष्टाचार नहुनासाथ विकास निर्माण कार्यक्रमले गति लिने कुरा घाम जत्तिकै छर्लड. छ ।
भट्टराईलाई उपेक्षा गरेर निर्वाचन हराउने त्यही दलको विरासत लिएको नेपाल कम्युनिष्ट पार्टीका प्रधानमन्त्री के.पी. शर्मा ओलीले शनिवार सुन्दरीजलमा स्वीच थिचेर मेलम्चीबाट १२ दिन पहिले २६ किलोमिटर लामो सुरुड.मा हालिएको पानी काठमाडौं उपत्यकामा झार्नुभयो ।
मेलम्चीको पानी सुन्दरीजल आएकाे विशेष क्षणमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ अवलोकन, निरीक्षण र विशेष सम्बाेधन गर्नुभएको छ । pic.twitter.com/aURq1ccXM6
— Surya Thapa (@ThapajiSurya) March 6, 2021
मेलम्चीको पानी झार्ने कार्यक्रमको उद्घाटन गर्न सुन्दरीजल पुग्नुभएका प्रधानमन्त्री ओलीले । उहाँले अहिले खोलाबाट परीक्षणको रुमा छाडिएको पानी काठमाडौं आइपुगेको र यो पानी पोखरीहरुबाट फिल्टर प्रशोधित गरेर वितरण पाइपमार्फत घरघरमा पुर्याइने बताउनुभयो ।
राजधानीको खानेपानी प्रणालीमा मेलम्चीको पानी थपिएपछि पिउनको लागिमात्र हैन, पर्याप्त पानीको प्रवाहले उपत्यकाका बाग्मती,विष्णुमति, धोवि खोला, इच्छुमति लगायतलाई पनि सफा राख्न मद्दत पुग्ने उहाँले बताउनुभयो । उहाँले यही शिवरात्रीमा बाग्मतिको सफा पानीले भक्तजनले नुहाउन पाउने दावी पनि गर्नुभयो ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले दोस्रो चरणमा यांग्री र लार्केबाट पानी थपेपछि काठमाडौं खानेपानीको समस्याबाट मुक्त हुने बताउनुभयो ।
यसपहिले खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले आवश्यक सम्पूर्ण प्राविधिक काम पूरा गरेर सुरुङमा पानी परीक्षण गरेको थियो ।
गत असारमै सुरुङमा पानी भनेर परीक्षण गरिएको थियो तर हेलम्बु गाउँपालिका–१ स्थित अम्बाथानको अडिटको मुख्य गेट (नं १७) फुटेर निस्केको पानीले आयोजनाका एक इन्जिनियर र चालकलाई बगाएको थियो ।
त्यसपछि आयोजनाको मुख्य दातृ निकाय एसियाली विकास बैंक (एडीबी)को अनुदान सहयोगअन्तर्गत चार जना विशेषज्ञको टोलीले सुरुङ, मुहानस्थल, गेटलगायत संरचनाको पुनः जाँच गरेको थियो ।
गत फागुन १० गते सिन्धुपाल्चोकको मेलम्ची खोलादेखि काठमाडौँको सुन्दरीजलसम्मको साढे २६ किलोमिटर सुरुङमा पानी पठाइएको थियो ।
सुन्दरीजलम आएको पानीलाई प्रशोधन गरेर परीक्षण गरिनेछ । बैशाखको दोस्रो सातादेखि घरघरमा पानी वितरण हुने बताइएको छ । निर्माण सुरु भएको १२ वर्षपछि मेलम्चीको सुरुङबाट ल्याइएको पानी सुन्दरीजलमा आइपुगेको हो ।


















