वाशिंटन डी.सी.(संयुक्त राज्य अमेरिका), २४ फागुन(बीबीसी) । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडिसी)ले खोप पूर्ण लगाइसकेका अमेरिकीहरू केही सामान्य जनजीवनमा फर्कन सक्ने बताएको छ।
उनीहरूले अरू खोप लगाइसकेका तथा केही नलगाएका व्यक्तिसँग पनि भेटघाट गर्न सक्ने उसको नयाँ मापदण्डमा उल्लेख छ।
खोपको दोस्रो मात्रा लगाएको दुई सातापश्चात् खोप लगाएका मानिसहरू सुरक्षित हुने सीडिसीले जनाएको छ।
हालसम्म तीन करोड अमेरिकीहरूले खोपको पूर्ण मात्रा लिइसकेका छन्।
नयाँ मापदण्डका प्रावधान
स्वास्थ्य अधिकारीहरूले नयाँ मापदण्ड सोमवार ह्वाइट हाउसको कोरोनाभाइरस कार्यदल बैठकमा सार्वजनिक गरेका हुन्।
जसअनुसार अब पूर्ण खोप लिइसकेका अमेरिकीहरूले निम्न कार्य गर्न सक्छन् :
- घरभित्र पूर्ण खोप लगाइसकेका अन्य व्यक्तिहरूसँग मास्क वा सामाजिक दूरी विना नै भेटघाट गर्न सक्छन्
- घरभित्र खोप नलगाएका परिवारकै सदस्यसँग भेटघाट गर्न सक्छन् यदि ती व्यक्ति भाइरसको गम्भीर बिमारी हुने कम जोखिममा पर्छन् भने
- कोभिड १९ भएका अरूसँग संसर्ग भएपनि यदि कुनै लक्षण देखा परेन भने परीक्षण वा क्वारन्टीन गर्नु पर्दैन
खोपको वितरणमा वृद्धि
‘हामीले अब कोभिड १९ पछिको संसार कस्तो हुन्छ भन्ने तर्फ वर्णन गर्दैछौँ ‘ वरिष्ठ सल्लाहकार एन्डी स्लाभिटले भन्नुभएको छ,’धेरै मानिसहरूले खोप लगाउँदै गएपछि यी गतिविधिको सूचीपनि बढ्दै जानेछ।’
खोप लगाएकाहरूलाई सार्वजनिक स्थलमा मास्क लगाउन अनि सामाजिक दूरी कायम गरिराख्न तथा धेरै भिडभाडमा नजान पनि भनिएको छ।
खोप नलगाएका र कोभिडको जटिलता हुने धेरै जोखिममा रहेकाहरूसँग भेट्दा भने खोप लगाएकाहरूले अझै मास्क लगाउन र दूरी कायम गर्न भनिएको छ।
हाल अमेरिकामा खोप वितरण बढिरहेको छ। अहिलेसम्म ९ करोड मात्राको खोप दिलाइसकिएको छ।
एकै मात्रा लगाए पुग्ने जोन्सन एन्ड जोन्सनको खोपको स्वीकृतिले पनि वितरण सहज भएको छ।
तर स्वास्थ्य अधिकारीहरूले अझै पनि कोभिड-१९ गम्भीर चिन्ताको विषय बनिरहेको बताएका छन्।
अझै अमेरिकाका ९० प्रतिशत जनसङ्ख्याले खोप लगाउन बाँकी रहेको सीडिसीकी निर्देशक डा रोसेल वालेन्स्कीले भन्नुभएको छ।
अमेरिकामा हरेक दिन करिब ६० हजार नयाँ सङ्क्रमित थपिइरहेका छन्।
हालसम्म अमेरिकामा २ करोड ९० लाख मानिस सङ्क्रमित भइसकेका छन् भने सवा ५ लाख मानिसको ज्यान गइसकेको छ।
मे महिनाको अन्त्यसम्म सबै वयस्क अमेरिकीलाई पुग्ने गरि खोप उपलब्ध भइसक्ने बताइएको छ।


















