Prakash Adhikari March 10, 2021

काठमाडौं, २६फागुन । सर्वोच्च अदालतको फागुन ११ गतेको ऐतिहासिक फैसलबाट पुनःस्थापित भएको प्रतिनिधिसभाको सातौं अधिवेशनको दोस्रो बैठक बुधबार १ बजे बस्दै छ ।

आजको बैठकमा पेश हुने कार्य सूचीमा रहेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको विरोधमा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस र विपक्षी जसपाका सांसदहरुले संसद सचिवालयमा विरोधको सूचना दर्ता गरेका छन् ।

काँग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसाल, माओवादी केन्द्रका यशोदा सुवेदी, टेकबहादुर बस्नेत, दुर्गाकुमारी विक, सन्तकुमार थारू तथा जनता समाजवादी पार्टीका लक्ष्मणलाल कर्ण र मोहम्मद इस्तियाक राईले अध्यादेश खारेज हुनुपर्ने मागसहितको विरोधको सूचना दर्ता गराएका छन् । सो सूचना पत्र मंगलबार नै दर्ता गराइएको हो ।

काँग्रेस, माओवादी केन्द्र र जसपाले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशबारे सचिवालयमा विरोधको सूचना दर्ता गरेकाले आजको बैठक सहज रूपमा सञ्चालन हुने काँग्रेस सचेतक पुष्पा भुसालले बताउनुभएको छ ।

सरकारले तीन महिनाअघि जारी गरेको संवैधानिक परिषद्को कर्तव्य, अधिकार र कार्यविधिसम्बन्धी अध्यादेश पारित हुन नदिने काँग्रेस, माओवादी र जसपाको रणनीति छ ।

 

Share Now

Leave a comment.