Prakash Adhikari March 10, 2021

 

काठमाडौं, २६ फागुन । पुनर्स्थापित प्रतिनिधिसभाको दोस्रो बैठक बुधवार दिउँसो १ बजेका लागि बोलाइएको छ।

संसद्‌ सचिवालयले सम्भावित कार्यसूची प्रकाशित गर्दै गृहमन्त्री, स्वास्थ्यमन्त्री र कानुनमन्त्रीले विभिन्न अध्यादेश पेस गर्ने जनाएको छ।

बैठकमा सभामुखले प्रतिनिधिसभा सदस्यहरू सानु शिवा र सूर्यबहादुर केसी तथा केही पूर्वसदस्यको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने पनि सम्भावित कार्यसूचीमा छ।

संवैधानिक परिषद्‌सम्बन्धी अध्यादेशको विरोधमा नेपाली काँग्रेसका सांसदहरूले नाराबाजी गरेपछि आइतवारको बैठक सभामुखले स्थगित गर्नुपरेको थियो।

सम्भावित कार्यसूची
आजको बैठकमा गृहमन्त्री रामबहादुर थापाले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय, पहिलो संशोधन) अध्यादेश, २०७७, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७७ र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७७ पेस गर्ने कार्यक्रम छ ।

त्यस्तै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७७ पेस गर्ने कार्सूची छ।


कानुन, न्याय तथा संसदीय मामिलामन्त्री लिलानाथ श्रेष्ठले फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी ऐन संशोधन गर्ने अध्यादेश २०७७, यौनहिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७७ र बेपत्ता पारिएका व्यक्तिको छानबिन सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश, २०७७ पेस गर्ने सङ्घीय संसद्‌का महासचिव भरतराज गौतमद्वारा जारी सम्भावित कार्यसूचीमा उल्लेख छ।

त्यस्तै सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभा सदस्यहरू सानु शिवा र सूर्यबहादुर केसी तथा पूर्वसंविधानसभाका केही सदस्यको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने पनि सम्भावित कार्यसूचीमा रहेको छ।

यी सबै आइतवारकै बैठक स्थगित हुन नपाएका कारण थाँती रहेका कार्यसूची हुन्।

शीर्ष नेताको शुभकामना र सम्बोधन

सभामुख सापकोटाले बुधवारको बैठकमा राजनीतिक दलका तर्फबाट शीर्ष नेताले सम्बोधन गर्न दिने दलहरूले अपेक्षा गर्नुभएको छ।

‘दलका तर्फबाट शीर्ष नेताले सम्बोधन गर्न दिने कुरा सभामुखले गर्नुभएको छ। हाम्रो दलको तर्फबाट कसले सम्बोधन गर्ने भन्ने कुरा केही समयमा टुङ्गो लगाउँछौँ ‘,नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले भन्नुभएको छ।

सभामुख

सभामुख
भट्टराईका अनुसार केही दिनभित्र विशेष सम्बोधन गर्ने तयारी रहेकोले प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले भने दलको तर्फबाट अहिले सम्बोधन गर्नुहुने छैन।

यद्यपि त्यसबारे सभामुख सापकोटाले निर्क्योल गरिनसकेकाले कतिपयमा अन्योल देखिएको छ।

समितिको बैठकले निर्क्योल गर्ने

‘सम्भावित कार्यसूचीमा दलका नेताहरूलाई सम्बोधन गर्न दिने कुरा उल्लेख छैन। अहिलेसम्म सभामुखले कार्य व्यवस्था परामर्श समितिको बैठक कति बेला बस्ने भन्नेबारे पनि केही जानकारी गराउनुभएको छैन’, संसद्‌ सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले भन्नुभयो।

संवैधानिक परिषद्‌सम्बन्धी अध्यादेशबारे विरोधको सूचना दर्ता गराइसकेको नेपाली काँग्रेसले बुधवारको बैठक निर्वाध अगाडि बढ्ने अपेक्षा गरेको छ।

‘आजको बैठक सहज ढङ्गले नै अगाडि बढ्छ भन्ने मलाई लागेको छ’, काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले भन्नुभएको छ।

आइतवार काँग्रेसका विरोधका कारण प्रतिनिधिसभाको बैठक स्थगित भएको थियो

आइतवार काँग्रेसका विरोधका कारण प्रतिनिधिसभाको बैठक स्थगित भएको थियो

माओवादी केन्द्रका देव गुरुङले संसद्‌ सचिवालयले निर्धारण गरेको कार्यसूचीको आधारमै बुधवारको बैठकमा आफूहरू अगाडि बढ्ने बताउनुभएको छ।

जनता समाज पार्टीका लक्ष्मणलाल कर्णले पनि बुधवारको बैठकमा सभामुखले दलको तर्फबाट शीर्ष नेतालाई बोल्न दिने अपेक्षा राख्नुभएको छ।

‘पहिलो बैठकमा सभामुखले नेतालाई बोल्ने समय दिन पाउनुभएन। मलाई लाग्छ आज उहाँले समय दिनुहुन्छ। बैठकअघि त्यसबारे हामीले छलफल गरी टुङ्गो लगाउँछौँ ‘, उहाँले थप्नुभयो।(बीबीसीबाट)

 

Share Now

Leave a comment.