लण्डन(संयुक्त अधिराज्य), २७ फागुन(बीबीसी) । ब्रिटिश राजकुमार ह्यारीले राजकीय जिम्मेवारीबाट पन्छिएर श्रीमती मेगन मार्कलसँग क्यालिफोर्निया सरेपछि परिवारले पैसा दिन बन्द गरेको बताउनुभएको छ।
उसोभए ह्यारी दम्पत्तिले अहिले कसरी आम्दानी गर्नुहुन्छ ?
के राजकुमार ह्यारी र मेगनले राजपरिवारबाट पैसा पाउनुहुन्छ?
सन् २०२० को ज्यानुअरीमा ड्यूक र डचिस अफ ससिक्सले राजकीय जिम्मेवारीबाट पन्छिएर आर्थिक रूपमा आत्मनिर्भर हुने बताउनुभएको थियो।
त्यो बेला नयाँ सहमतिअनुसार यो दम्पत्तिले केही समय ह्यारीका पिताबाट पैसा पाउने बताइएको थियो।
त्यो पैसा डची अफ कोर्न्वल भनिने सम्पत्ति र लगानीबाट वा राजकुमार चार्ल्सको व्यक्तिगत सम्पत्तिबाट वा दुवैबाट कहाँबाट आउने हो स्पष्ट थिएन।
मार्च २०२० भन्दा एक वर्षअगाडि राजकुमार चार्ल्सको खाताबाट राजकुमार ह्यारी र मेगन एवं राजकुमार विलियम र केटको गतिविधिका लागि ५६ लाख पाउन्ड खर्च भएको देखिन्छ।
तर राजकुमार ह्यारीले एउटा टीभी अन्तर्वार्तामा ओप्रा विन्फ्रीलाई राजपरिवारले त्यसपछि पैसा दिन लगभग बन्द गरेको बताउनुभएको छ। उहाले पिताबाट आउने पैसाको कुरा गरेको कि ब्रिटिश नागरिकको करबाट सञ्चालित राजकोषबाट आउने पैसाको कुरा गर्नुभएको हो भन्ने स्पष्ट छैन।
राजकुमार चार्ल्सको सन् २०२० को मार्चयताको खर्च विवरण सार्वजनिक गरिएको छैन र उहाँको कार्यालयले यसबारेमा टिप्पणी गर्न चाहेन।
ह्यारी र मेगनको आर्थिक अवस्था
राजकुमार ह्यारी र मेगन दुवैसँग राम्रै पैसा भएको मानिन्छ।
राजकुमार विलियम र राजकुमार ह्यारीले आमा राजकुमारी डायनाको १ करोड १३ लाख पाउन्डको ठूलो अंश पाएको मानिन्छ।

राजपरिवार
ह्यारीले अमेरिका सरेको विषयमा बोल्दै विन्फ्रीलाई मैले आमाले मलाई छोडेको पैसा पाएको र त्योबिना यो सबै गर्न नसकिने बताउनुभएको थियो।
बीबीसीका शाही संवाददाता निक विचेलका अनुसार राजकुमार ह्यारीलाई उहाँकी जिज्यूआमाले दशौँ लाख पाउन्ड छोड्नुभएको बताइन्छ। महारानी एलिजाबेथको आमाको सन् २००२ मा मृत्यु भएको थियो।
आफ्नो अभिनय जीवनमा मेगनले सूट्स नामक टीभी शृङ्खलामा काम गरेबापत प्रत्येक एपिसोडका लागि ५० हजार डलर पाउने विवरण सार्वजनिक भएको थियो।
उहाँको आफ्नो ब्लग पनि थियो र क्यानडाको एउटा कम्पनीका लागि फ्याशन डिजाइन पनि गर्नुहुन्थ्यो।
ह्यारी र मेगनको अन्य आय
राजपरिवारको कार्यकारी सदस्य नरहेका कारण राजकुमार ह्यारी र मेगन आम्दानीमूलक काम गर्न स्वतन्त्र हुनुहुन्छ।
विन्फ्रीको अन्तर्वार्ताका लागि उहाँहरुलाई पैसा तिरिएको थिएन तर उहाँहरूले नेटफ्लिक्स र स्पटिफाईसँग सम्झौता गर्नुभएको थियो जसबाट लाखौँ डलर आम्दानी हुने बताइएको छ।
आर्चवेल नामक उहाँहरुको संस्थाले गैरनाफामूलक कामका साथै नाफामूलक काम पनि गर्छ।
सुरक्षाको खर्च
.
ह्यारी दम्पत्ति यूकेमा हुँदा उहाँहरूलाई नगर प्रहरीले सुरक्षा प्रदान गर्थ्यो। त्यसको खर्च सार्वजनिक गरिएको छैन।
क्यानडा सरकारले उनीहरूलाई सुरक्षा प्रदान गर्न बन्द गर्ने निर्णय गरेपछि उहाँहरू क्यानडाबाट अमेरिका सर्नुभएको हो।

अन्तर्वार्ता
त्यहाँ लकडाउनको पहिलो केही महिनाहरू अमेरिकी अर्बपति तथा मिडिया मालिक टेलर पेरीले घर र सुरक्षाको खर्च दिएको दुवैले अन्तरवार्तामा बताउनुभएको छ।
विन्फ्रीले उनीहरू पैसाको पछि लागेको आरोपका बारेमा सोधेको प्रश्नमा राजकुमार ह्यारीले नेटफ्लिक्स र स्पटिफाईसँगको सम्झौताबारे पूर्वयोजना नरहेको तर आवश्यक परेको बताउनुभयो।
‘मेरो तर्फबाट मलाई चाहिएको कुरा भनेको सुरक्षाका लागि र मेरो परिवार सुरक्षित राख्नका लागि पुग्ने पैसा हो’, ह्यारीले भन्नुभएको थियो।
राजपरिवारमा रहँदाको खर्च
राजकीय उत्तदायित्व परित्याग गर्नुअघि ह्यारी दम्पत्तिको ९५ प्रतिशत खर्च पिता राजकुमार चार्ल्सबाट आउँथ्यो।
सन् २०१८ देखि सन् २०१९ सम्म ५० लाखभन्दा केही बढी रहेको त्यो पेसाले ह्यारी र राजकुमार विलियम दम्पतीको सार्वजनिक जिम्मेवारी र केही व्यक्तिगत खर्च चल्थ्यो।

ह्यारी र मेगनको विवाह
बाँकी पाँच प्रतिशत करदाताको पैसाबाट निर्मित राजकोषबाट उपलब्ध हुन्थ्यो। यो कोष सरकारले राजपरिवारको आधिकारिक जिम्मेवारी र राजदरबारको खर्चका लागि दिने पैसा हो।
प्रतिवर्ष राजकोषमा ब्रिटिश सरकारले ८ करोड ५९ लाख पाउन्ड दिने गर्छ। यो पैसामा क्राउन स्टेट भनिने व्यावसायिक सम्पत्तिको नाफाबाट पनि आउँछ।
क्राउन स्टेटअन्तर्गत लन्डन, स्कटल्यान्ड, वेल्स र उत्तरी आयरल्यान्डमा सम्पत्तिहरू छन् जसलाई एउटा स्वतन्त्र संस्थाले व्यवस्थापन गर्छ। तिनको नाफा ब्रिटिश ढुकुटीमा जान्छ।
त्यसबाट १५ देखि २५ प्रतिशत सरकारले राजकोषमा हालिदिन्छ।
क्राउन स्टेटको सम्पत्ति महारानीको व्यक्तिगत सम्पत्ति होइन। त्यो राजसंस्थाको सम्पत्ति हो।


















