Prakash Adhikari March 11, 2021

काठमाडौं, २७ फागुन । जनता समाजवादी पार्टी(जसपा) का शीर्ष नेताहरूको प्रधानमन्त्री केपी शर्मा ओलीसँगको उच्चस्तरीय भेटघाट बालुवाटारमा सकिएको छ ।

प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले उक्त भेटघाट सकारात्मक रहेको बताउनुभएको छ ।

प्रेस सल्लाहकार थापाका अनुसार वार्ता भोलि पनि कार्यदलस्तरमा हुनेछ ।

वार्तामा सहभागी एक एमाले नेताले दिनुभएको जानकारी अनुसार जनता समाजवादी पार्टी (जसपा) ले सरकारमा सहभागी हुन राखेको तीनबुँदे शर्तमा प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक देखिनुभएको छ ।

प्रधानमन्त्री ओलीले बिहीबार एमाले शीर्ष नेताहरुलाई राखेर जसपाका नेताहरुसँग छलफल गर्नुभएको थियो ।

पार्टीको पदाधिकारीको बैठक सकेर जसपाका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव, वरिष्ठ नेता राजेन्द्र महतो, अशोक राईलगायतका नेता एमालेसँगको छलफलका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुग्नुभएको थियो ।

वार्तामा जसपाका नेताहरुले कैदीबन्दी साथीहरुको रिहाइ, मुद्दा फिर्ता र संविधान संशोधन मुख्य मुद्दाका रुपमा उठाउनुभएको थियो ।

भेटवार्तामा एमालेका तर्फबाट महासचिव इश्वर पोखरेल, नेता सुभाष नेम्वाड., उपमहासचिव विष्णु पौडेल, लुम्बिनी प्रदेशका मुख्य सचिव शंकर पोखरेल, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई संलग्न हुनुहुन्थ्यो ।

नेकपा एमाले र जसपाबीचको वार्ता भोलिदेखि कार्यदलस्तरमा हुने बताइएको छ ।

नेकपा एमालेले जसपासँग वार्ता गर्न सुवास नेम्वाङ, विष्णु पौडेल र राजन भट्टराई रहेको कार्यदल बनाएको छ ।

जसपा अध्यक्ष महन्थ ठाकुरले सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई नेकपा एमालेसंग वार्ताको लागि खटाउनुभएको थियो ।

अब त्यसमा अरु नेताहरुलाई राखेर कार्यदल बनाउने तयारी छ ।

 

Share Now

Leave a comment.