Prakash Adhikari March 14, 2021

 

काठमाडौं, १ चैत्र । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले अर्थमन्त्री विष्णु पौडेलसंग भेट गरी कोरोनापछि देशको आर्थिक र सामाजिक अवस्था सामान्य अवस्थामा फर्केकोले सुनको विक्री वितरणमा लागेको नियन्त्रण फुकाएर माग अनुसार कोटा बृद्धि गर्न ज्ञापन-पत्र पेश गरेको छ ।

महासंघका अध्यक्ष रमेश महर्जनका नेतृत्वमा गएको प्रतिनिधि मण्डलले सुनको आपूर्तिमा लामो समयदेखि अव्यावहारिक किसिमले अत्याधिक कटौती गरिएकोले मुलुकभर सुनको चरम अभाव सृजना भएको र यस्तो अवस्थामा अवैध कारोवारले प्रश्रय पाई औपचारिक क्षेत्रमा असर पर्न जानुको साथै यसबाट राजश्व संकलनमा समेत नकारात्मक असर परेकोमा अर्थमन्त्रीको गम्भीर ध्यानाकर्षण गराएको थियो ।

प्रतिनिधि मण्डलले साविकमा दैनिक २० र २५ के.जी सुन विक्री वितरण हुँदै आएकोमा “कोभिड–१९” को संक्रमण पश्चात २०७७ चैतको पहिलो हप्तादेखि नै दैनिक १० के.जी. मा झारिएको तर हाल अर्थतन्त्रका सबै क्षेत्रहरु पूर्ववत रुपमा सामान्य अवस्था आइसकेकोले सुनको दैनिक कोटा पनि पूर्व स्थितिमा लैजानु अति जरुरी भएको तर्क दिएको थियो ।

प्रतिनिधि मण्डलले बजारको मागलाई दृष्टिगत गर्दै सुन आयातको दैनिक कोटालाई कम्तिमा पनि ३० के.जी बनाइनु उपयुक्त हुने सुझाव दिएको छ ।

प्रतिनिधि मण्डलले सुनको विक्री वितरणलाई व्यवस्थित गर्न नेपाल राष्ट्र बैंकले जारी गरेको “सुन आयात तथा विक्री वितरण कार्यविधि – २०६८” ले तोके अनुसार काठमाडौंको साथै धनगढी, नेपालगञ्ज, सिद्धार्थनगर, पोखरा, वीरगञ्ज, जनकपुर, विराटनगर र भद्रपुर समेत अन्य आठ वटा स्थानहरुबाट सुनको विक्री वितरण हुनुपर्ने माग पनि राखेको छ ।

महासंघले मुलुकभर सदस्यहरु रहेको नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघलाई पनि अबिलम्ब जिल्लाको कोटा उपलव्ध गराउन माग गरेको छ ।

प्रतिनिधि मण्डलले आफ्ना मागहरुको बारेमा नीतिगत निर्णय गराउन सहज हुन सकोस भने ती विषय प्रधानमन्त्री एवं मन्त्री परिषद्को सचिवालयका सचिव डा. बैकुण्ठ अर्यालसमक्ष पनि पेश गरेको जनाएको छ ।

सुन आपूर्ति सहज बनाउने माग लिएर सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष रमेश महर्जनसहित प्रथम उपाध्यक्ष रुद्र बहादुर बराईली र कोषाध्यक्ष द्वारिका विश्वकर्मा सिंहदरबारस्थित अर्थमन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुग्नुभएको थियो ।

Share Now

Leave a comment.