काठमाडौं , १ चैत्र । नेपाल कम्युनिष्ट पार्टी(एकीकृत माक्र्सवादी लेनिवादी, एमाले) भित्रको माधव नेपाल र झलनाथ खनाल पक्षले पार्टीका अध्यक्ष के.पी. शर्मा ओलीले गर्नुभएका विधान विपरितका कारवाहीलाई मान्यता नदिन निर्वाचन आयोगलाई पत्र दिएको छ ।
नेकपा एमालेका निर्वाचित अध्यक्ष केपी शर्मा ओलीले गत शुक्रबार आफू निकट केन्द्रीय सदस्यहरुको बैठक बोलाएर केन्द्रीय समितिका महाधिवेशनद्धारा निर्वाचित पदाधिकारीहरुलाई बर्खास्त गर्ने, केन्द्रीय कमिटीमा अरु पार्टीका सदस्यहरुलाई नियुक्त गर्ने र केन्द्रीय कमिटीका सदस्यहरुको विभिन्न जिम्मेवारीहरु हेरफेर गर्ने निर्णय गर्नुभएको थियो ।
नेकपा एमालेका निर्वाचित उपाध्यक्ष डा.भीम रावलले ओली पक्षले हुुकुमी शैलीमा गरेका निर्णयलाई वैधानिकता नदिन निर्वाचन आयोगसंग अनुरोध गरिएको जानकारी दिनुभएको छ।
पत्रमा पार्टीको विधानको धारा १३ र १३ (क) बमोजिम पार्टी विधानको संशोधन केवल राष्ट्रिय महाधिवेशन र विधान अधिवेशनले मात्र गर्न सक्ने स्मरण गराइएको छ। ‘पार्टी विधानको धारा ४१ मा पार्टीका विभिन्न कमिटीका बैठकहरुको आयोजना हुने विधि निर्धारण गरिएको छ।
केन्द्रीय कमिटीको बैठक हुनुपूर्व सचिवालय र स्थायी कमिटीका बैठक बसी केन्द्रीय कमिटीको बैठकको कार्यसूची तय गर्ने नेकपा (एमाले)को विधि, पद्दति र अभ्यास रहँदै आएको छ।
त्यसो नगरी बोलाइएको कुनै बैठक र त्यसले गरेका निर्णयहरू पार्टी विधान अनुकुल ठहरिदैनन्’, पत्रमा भनिएको छ।
निर्वाचन आयोगमा दिइएको पत्रमा वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव कुमार नेपाल, उपाध्यक्षत्रय युवराज ज्ञवाली, अष्ठलक्ष्मी शाक्य, भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव भीम प्रसाद आयार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, स्थायी कमिटी सदस्यद्वय मुकुन्द न्यौपाने र सुरेन्द्र पाण्डेले हस्ताक्षर गर्नुभएको छ।
शुक्रबार ओली पक्षले आफू निकटका केन्द्रीय सदस्यहरूको भेला गरेर नेपाल समूहका नेताहरुको जिम्मेवारी खोस्दै आफूपक्षिय नेताहरूलाई जिम्मेवारी दिएको थियो।
त्यस्तै पार्टी केन्द्रीय कमिटीमा सदस्य थप गर्नेदेखि विधान संशोधन गर्ने निर्णय गरेको थियो। सर्वोच्च अदालतले नेकपा पार्टीको आधिकारिकता ऋषि कट्टेललाई दिँदै तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र व्यूताउने फैसला गरेपछि पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री के.पी. ओलीले आफ्ना विरोधीहरुलाई भित्तामा पुर्याउने गरी पेल्ने नीति लिनुभएको छ ।
ओली पक्षले नेपाल समूहका नेताहरूको जिम्मेवारी खोसेपछि नेपाल नेपाल समूहले शनिबार समानान्तर कमिटी गठन गरेको थियो


















